शिवराज कृषि सहकारीको साधारणसभा

शिवराज कृषि सहकारीको साधारणसभा
कपिलवस्तु — शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केर सिंह अदैको अध्यक्षतामा भएको सभाको उद्घाटन नगरप्रमुख अजय थापाले गरेका थिए ।

सभामा नगरप्रमुख थापाले सहकारीमार्फत स्वरोजगारका कार्यक्रम सञ्चालन भए नगरपालिकाले सहयोग गर्ने बताए । उनले सदस्यहरूलाई आफ्नो बचत तथा आर्थिक कारोबारको विवरणबारे सचेत रहन आग्रह गरे ।

वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले सहकारीले किसानलाई बचत गर्ने बानीको विकाससँगै बीउ–बिजन, मलखाद, आईएमईलगायत सेवा उपलब्ध गराउँदै आएको बताए । उनले सहकारीको तरकारी संकलन केन्द्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

साधारणसभामा अध्यक्ष अदैले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी ७ लाख ४४ हजार रुपैयाँ र बचत ७२ लाख ५१ हजार ८ सय ८३ रुपैयाँ ६३ पैसा रहेको छ ।

संस्थाले उक्त अवधिमा ३ लाख १२ हजार १ सय ९५ रुपैयाँको बीउ–बिजन, १४ लाख ८२ हजार ९ सय ४० रुपैयाँको मलखाद र ६० लाख ६९ हजार २ सय रुपैयाँ बराबरको ऋण कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी वर्ष ६ लाख रुपैयाँको बीउ–बिजन, १५ लाख रुपैयाँको मलखाद तथा ८० लाख रुपैयाँको पशुपालन तथा कृषि ऋण कारोबार गर्ने लक्ष्य संस्थाले लिएको छ ।

साधारणसभाले परिमार्जित सहकारी नियमअनुसार आवश्यक नियम बनाउने, सदस्यको कार्ड बनाउने, किसानलाई मलखाद कार्ड उपलब्ध गराउने र महिला शेयर सदस्यलाई उद्यमसम्बन्धी तालिम दिने निर्णय गरेको छ । रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १० हजार २ सय ५० रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरिएको छ ।

सभामा कोषाध्यक्ष रामबहादुर चमारले वार्षिक आय–व्यय प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन तिना अदैले र स्वागत मन्तव्य सचिव तिकमाया भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर