कपिलवस्तुमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको कानुनी अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमूलक र्याली निकालिएको छ।शिवराज महिला श्रमिक सजाल नगर अध्यक्ष यसोदा नेपालीको नेतृत्वमा निकालिएको र्यालीमा सहभागीहरूले ‘समान कामको समान ज्याला’, ‘श्रमिकको पञ्जीकरण तथा बीमा सुनिश्चित गर’, ‘सुरक्षा सामग्री उपलब्ध गराऊ’
लगायतका विभिन्न माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
नगर उपप्रमुख शिवकुमारी थारुले महिलाको अधिकार र सुरक्षाका लागि नगरपालिकाले आवश्यक कानुन निर्माणको प्रक्रिया अघि बढाएको बताइन्। उनले महिलामाथि अझै पनि ज्यालामा असमानता रहेको उल्लेख गर्दै समान कामका लागि समान ज्याला सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्।
शिवराज नगरपालिका–२का वडा अध्यक्ष रामबहादुर चौधरीले सरकारले तोकेको पारिश्रमिक रोजगारदाताले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने बताए। कतिपय श्रमिकले तोकिएको पारिश्रमिक नपाएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले श्रमिकको अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका सयोजक अजय चौधरीले विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो आउने गरेको भन्दै सरकारले तोकेको पारिश्रमिक र श्रमिकका आधारभूत अधिकार कार्यान्वयन हुनुपर्ने बताए। उनले महिलालाई पुरुषसरह समान कामको समान ज्याला, श्रमिक पञ्जीकरण तथा बीमा, आवश्यक सुरक्षा सामग्री र सुरक्षित कार्यस्थलको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
अनौपचारिक क्षेत्रमा कार्यरत महिलाको श्रमको उचित मूल्यांकन, कानुनी अधिकारको कार्यान्वयन र सुरक्षित कार्यस्थलको सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले र्याली आयोजना गरिएको केन्द्रका कार्यक्रम अधिकृत सजिव गहतराजले बताउनुभयो














