नेपाल आदर्श बहुमुखी क्याम्पसमा छात्रावास भवन शिलान्यास

नेपाल आदर्श बहुमुखी क्याम्पसमा छात्रावास भवन शिलान्यास

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा तीन तले छात्रावास भवन निर्माणका लागि शिलान्यास गरिएको छ। पूर्वप्रतिनिधिसभा सदस्य मंगल गुप्ताकी धर्मपत्नी स्वतन्त्रतादेवी गुप्ताले एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभएको हो।
दुई करोड ११ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त छात्रावास भवन सघन सहरी तथा भवन निर्माण आयोजना, भैरहवामार्फत भवन निर्माणको जिम्मेवारी चित्रेश्वर निर्माण सेवाले पाएको छ। २०८४ असार २० गतेसम्म भवन निर्माण सम्पन्न भएपछि क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई आवासको सुविधा उपलब्ध हुने र उच्च शिक्षाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले शैक्षिक संस्थाको विकासमा भौतिक पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नेपाल आदर्श बहुमुखी क्याम्पसले गाउँका युवा–युवतीलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै क्याम्पसलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादन गर्ने दिशामा क्याम्पस अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। शैक्षिक संस्थाको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै पठनपाठनको वातावरण सुधार र शैक्षिक उपलब्धिमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले नेपाल आदर्श बहुमुखी क्याम्पस उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँले यस क्षेत्रका साथै टाढाटाढाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको उल्लेख गर्दै छात्रावास भवन निर्माणपछि उनीहरूको बसोबाससम्बन्धी समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
उच्च शिक्षा हासिल गर्न घरबाट टाढा आउनुपर्ने विद्यार्थीले आवासको अभावका कारण विभिन्न समस्या भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले छात्रावास निर्माणले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने बताउनुभयो। शैक्षिक संस्थाको विकासले स्थानीय क्षेत्रको शैक्षिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रममा समाजसेवी हुमाकान्त खनालले क्याम्पसको समग्र सुधार र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले शैक्षिक संस्थाको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका लागि सामूहिक पहल आवश्यक रहेको धारणा राख्नुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रसिंह केसीले छात्रावास भवन निर्माणका लागि बजेट विनियोजन गर्न पहल गर्नुभएकोमा पूर्वप्रतिनिधिसभा सदस्य मंगल गुप्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले छात्रावास भवन निर्माण क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै निर्माण सम्पन्न भएपछि विद्यार्थीलाई अध्ययन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष केसीले क्याम्पसको विकास र शैक्षिक वातावरण सुधारका लागि आगामी दिनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। छात्रावास निर्माणले टाढाबाट आउने विद्यार्थीलाई आवासको सुविधा उपलब्ध गराउनुका साथै उनीहरूको अध्ययनलाई नियमित र सहज बनाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि सामाजिक अगुवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर