कपिलवस्तुमा पाटेबाघको छालासहित एक जना पक्राउ ।।
कृष्णनगर (कपिलवस्तु) १० मंसिर
कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छाला (अखेटो पहार) सहित एक जनालाई पक्राउ गरेको छ ।
कपिलबस्तुको शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुदै गरेको विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलबस्तुबाट खटिएको प्रहरी निरिक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकमा प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ का ४१ वर्षिय विष्णु प्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।
लजको काउन्टरमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई खान तलासी गर्दा सेतो प्लाष्टिकको बोरामा लुकाई राखेको पाटे बाघको छाला भेटिएको प्रहरीले बताएको छ ।
उक्त छालालाई टाउको देखी पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चारवटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखीने ३ वटा सानो प्वाल रहेको अवस्थामा भेटिएको प्रहरी निरिक्षक शाहको जानकारी दिनुभयो ।
उक्त छालालाई बरामद गरी आवश्यक कारवाहीको लागि उक्त बन्य जन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरको मोटरसाईकल सहित पक्राउ परेका बिष्णु प्रसाद भट्टराईलाई डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्रौटा कपिलवस्तु पठाईएको छ ।













