कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।
युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।
समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिनुभयो ।
मन्त्री अग्रवालले कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन गर्नका लागि विशेष बजेट छुट्याउने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
यस क्षेत्रमा ऐतिहासिक रूपमा केपीएल प्रिमियर कप भएको भन्दै सांसद केसीले आयोजकलाई धन्यवाद दिनुभयो ।
पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता खेल आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आउने दिनमा पनि यस्ता रचनात्मक क्रियाकलाप तर्फ युवाहरू लाग्नुपर्ने पूर्वमन्त्री मिश्राको भनाई रहेको थियो ।
आजको समापन खेलमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज र शिवराज नगरपालिकाको मोतिनगर बीच प्रतिस्पर्धा भएको थियो ।
क्रिकेट खेलमा मोतीनगरले बहादुरगंजलाई हराउँदै च्याम्पियनसिपको उपाधि हात पारेको खेल संयोजक रहित शाहले बताउनुभयो ।
मोतीनगरले १ सय ३१ रनको टार्गेट दिएको थियो । बहादुरगंज ५६ रनमा मात्रै अलाउट हुदा केपीएल प्रिमियर कपको च्याम्पियन सिप मोतीनगर भएको थियो । मोतीनगरले १ लाख १ हजार नगद पुरस्कार जितेको छ ।
उपविजेता कृष्णनगरको बहादुरगंजले रु ५१ हजार जितेको इन्डो नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले बताउनुभयो ।
माघ १२ गतेबाट सुरु भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी समूहले सहभागिता जनाएको आयोजक मिर्जा रासिद बेगले बताउनुभयो ।
म्यान अफ द सिरिज लुम्बिनी प्रदेश प्रहरीको क्रिकेट खेलाडी युवराज सेनले जितेका थिए ।













