विजयनगर कपिलवस्तु, २८ चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा गाउँ ब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु भएको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीद्वारा गाउँ ब्लक पुर्जा वितरण कार्य सुरु गरिएको हाे । बिहिवार गाउँपालिकामा ६ सय ३० जनालाई गाउँ ब्लक पुर्जा वितरण गरिएको नापी कार्यालय ताैलिहवाका प्रमुख अधिकृत जनक बहादुर भण्डारीले जानकारी दिए । बुद्धभूमि नगरपालिकामा पनि ८ सय ३८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले जनाए ।
पुस्ताैँदेखि भाेगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भाेग्दै आएका नागरिकलाई अहिले जग्गाधनी पुर्जा वितरण गरिएको हाे । विजयनगर गाउँपालिकाकाे वडा नम्बर १, २, ४, ५, ६ र ७ गरि ४३ ओटा गाउँका नागरिकलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ ।
कार्यक्रममा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षाैदेखि बसाेबास गर्दै आएका तर जग्गा पुर्जा नभएकाे नागरिकलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको बताए । तीन ओटै सरकारले मिलेर जनताको काममा लाग्नुपर्ने बताउँदै नागरिकले पनि पुर्ण सहयोग गरे मात्र काम गर्न सजिलो हुने उनकाे भनाइ छ । उनले बाँकी काम जेठसम्म सकाएर अन्य पालिकामा जाने बताए ।
उनले भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई आयाेग बनाएर काम सुरु गरिएकाे बताए । उनले जंगल फडानी गर्ने, जमिन मिच्ने, सडक कब्जा गर्ने कार्यलाई राेेक्ने प्रयास भएको बताए । उनले सरकारले भुमि समस्या समाधानका लागि नियम, कानुनी बनाएर लालपुर्जा पाउने कुरामा विश्वस्त रहनुपर्ने बताए । उनलेे गड्डाघाटकाे पानी विजयनगर ल्याउने याेजनामा बन विभागले अवराेध गरेकाे बताउँदै त्यसलाई फुकाउने कार्यमा लागेकाे बताए । उनले लाेकतान्त्रिक, गणतन्त्रकाे जनता हामी भएकाे बताउँदै सबैले गणतन्त्रको रक्षाका लागि लाग्नुपर्ने जिकिर । गणतन्त्रकाे विरुद्ध लागेका तत्त्वलाई नागरिकले परास्त गर्नुपर्नेमा जाेड दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले जनतालाई सेवा, आर्थिक र विकाससँग जाेड्नुपर्नेमा जाेड दिएकी छन् ।पुर्जाकाे अधिकारबाट वञ्चित हुन परेकाे भन्दै संघीय संसदले कानुनी निर्माण आफ्नो भूमिका निर्वाह गर्ने बताइन् । उनले सरकारले पास गर्न लागेकाे भुमि सम्बन्धी विधेयकलाई पास गर्ने प्रक्रियालाई अगाडी बढाएको बताउँदै सरकारले अध्यादेशबाट भए पनि पास गर्ने कार्यमा लागेकाेले यसमा आफुले पनि पहल गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले लामाे समयपछि जग्गा पुर्जा बिहीनले पुर्जा प्राप्त गर्न सफल भएको बताए । उनले लालपुर्जा नहुँदा झेल्दै आएकाे समस्या समाधान भएको बताए । विजयनगरमा असारसम्म नापी टाेली रहने बताउँदै छिटो लालपुर्जा बनाउन लाग्नुपर्नेमा जाेड दिए । भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीका लागि गाउँपालिकाले निरन्तर लागेकाे उनलेे बताए । उनले गाउँपालिकाकाे चाैतर्फी विकास याेजनाका लागि मन्त्री अधिकारी र राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेलाई ध्यानाकर्षणसमेत गराए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले बाँकी रहेका नागरिकलाई गाउँ ब्लक पुर्जा वितरण कार्यलाई निरन्तरता दिने बताइन् । सिङ्गो गाउँपालिकाकाे टीमले आफ्नो ठाउँबाट भुमि समस्या समाधानकाे लागि प्रयासरत रहेकाे उनलेे बताइन् ।













