लक्ष्मणघाटको जल सोनवागढमा, धार्मिक पर्यटन जोड्ने शिवराजको नयाँ अभियान ।
नवराज पौडेल चन्द्रौटा, कपिलवस्तु ।
धार्मिक पर्यटन प्रवर्द्धनसँगै प्राचीन धार्मिक स्थल लक्ष्मणघाट धाम र ऐतिहासिक एवं पुरातात्त्विक स्थल सोनवागढलाई एउटै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा जोड्ने उद्देश्यले सोमबार कपिलवस्तुमा बृहत् बाइक र्याली तथा धार्मिक यात्रा सम्पन्न भएको छ।
लक्ष्मणघाट धामबाट पवित्र जल ग्रहण गरी बाइक र्यालीसहित सोनवागढ पुगेका सहभागीले त्यहाँस्थित शिव मन्दिरमा जल अर्पण गरेका थिए। धार्मिक आस्था, इतिहास र पर्यटनलाई जोड्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो।
लक्ष्मणघाटबाट सुरु भएको बाइक र्याली विभिन्न स्थान हुँदै सोनवागढ पुगेको थियो। सहभागीले साथमा पवित्र जल बोकेर सोनवागढमा रहेको शिव मन्दिरमा पुगेर जल अर्पण गरेपछि धार्मिक विधिअनुसार कार्यक्रम सम्पन्न गरिएको थियो।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले लक्ष्मणघाट र सोनवागढलाई जोडेर धार्मिक पर्यटनको नयाँ गन्तव्य विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
‘लक्ष्मणघाटको पवित्र जल सोनवागढको शिव मन्दिरमा अर्पण गर्ने यो कार्यक्रम धार्मिक आस्थासँगै दुई महत्वपूर्ण सम्पदालाई जोड्ने अभियान पनि हो,’ नगर प्रमुख थापाले भन्नुभयो, ‘हामीसँग धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेका धेरै सम्पदा छन्। अब यिनको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड दिन आवश्यक छ।’
उहाँले लक्ष्मणघाटदेखि सोनवागढसम्मको धार्मिक मार्गलाई व्यवस्थित गर्दै आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसार गर्न सके यस क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताउनुभयो।
‘धार्मिक पर्यटनको विकासले यहाँको मौलिक संस्कृति र सम्पदाको संरक्षण मात्र गर्दैन, स्थानीयको आयआर्जन र रोजगारीका अवसरसमेत बढाउन सक्छ,’ थापाले भन्नुभयो।
बाइक र्यालीमा सहभागीहरूले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने सन्देश दिएका थिए। र्यालीले लक्ष्मणघाट र सोनवागढबीचको धार्मिक सम्बन्धलाई प्रचारमा ल्याउनुका साथै स्थानीय स्तरमा धार्मिक पर्यटनप्रति चासो बढाउने अपेक्षा गरिएको छ।
लक्ष्मणघाट धाम र सोनवागढलाई जोडेर नियमित धार्मिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्न सके कपिलवस्तुको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिन सक्ने स्थानीयको भनाइ छ।
पवित्र जल बोकेको बाइक र्याली, शिवालयमा जल अर्पण र धार्मिक सम्पदाको संरक्षणको सन्देश—सोमबारको यो अभियानले लक्ष्मणघाटदेखि सोनवागढसम्मको धार्मिक यात्रालाई नयाँ पहिचान दिने प्रयास गरेको छ।














