युवा भजन बुद्धभूमिको साप्ताहिक भजन शनिबार सोनवागढमा हुँदै ।

युवा भजन बुद्धभूमिको साप्ताहिक भजन शनिबार सोनवागढमा हुँदै ।।

नवराज पौडेल कपिलवस्तु
बुद्धभूमिमा नियमित हुँदै आएको साप्ताहिक भजन–कीर्तन यसपटक शिवराज नगरपालिका–३,भितरिया स्थित सोनवागढ बोलबम धाममा आयोजना हुने भएको छ।
युवा भजन बुद्धभूमिको आयोजनामा आगामी २०८३ भदौ ६ गते शनिबार साँझ ४ बजे भजन–कीर्तन कार्यक्रम हुन लागेको हो। सामान्यतया बुद्धभूमिका विभिन्न स्थानमा साप्ताहिक रूपमा हुँदै आएको भजन–कीर्तन यसपटक भने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सोनवागढ बोलबम धाममा गर्न लागिएको आयोजकले जनाएको छ।
सोनवागढमा बोलबम धामको औपचारिक सुरुआत भएको यो दोस्रो वर्ष हो। छोटो समयमै धार्मिक गतिविधिको केन्द्रका रूपमा विकसित हुँदै गएको धाममा साप्ताहिक भजन–कीर्तन आयोजना हुनुले धार्मिक पर्यटन तथा स्थानीय संस्कार प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
युवा भजन बुद्धभूमिका प्रमुख प्रकाश शर्मा आचार्यले बुद्धभूमिमा नियमित रूपमा हुँदै आएको साप्ताहिक भजनलाई यसपटक सोनवागढ बोलबम धाममा आयोजना गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार युवापुस्तालाई सनातन संस्कार, धर्म र संस्कृतिसँग जोड्दै धार्मिक गतिविधिमा सक्रिय सहभागिता बढाउने उद्देश्यले भजन–कीर्तनलाई निरन्तरता दिइएको हो।
‘धर्मो रक्षति रक्षितः’ भन्ने भावसहित आयोजना हुने कार्यक्रममा भगवान् शिवको आराधना, भजन–कीर्तनलगायत धार्मिक गतिविधि हुनेछन्। कार्यक्रममा स्थानीय भक्तजन, युवा, धर्मप्रेमी तथा सनातन संस्कारमा आस्था राख्ने सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।
आचार्यले नियमित भजन–कीर्तनले धार्मिक आस्था बलियो बनाउनुका साथै समाजमा आपसी सद्भाव, भाइचारा र सकारात्मक संस्कार निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो।
भदौ ६ गते शनिबार साँझ ४ बजे सोनवागढ बोलबम धाममा हुने भजन–कीर्तनमा सहभागी हुन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आह्वान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ