अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकको शिवराज नगर भेला सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकको शिवराज नगर भेला सम्पन्न
नवराज पौडेल कपिलवस्तु
राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) कपिलवस्तुको शिवराज नगर समितिको दोस्रो नगर भेला शनिबार चन्द्रौटामा सम्पन्न भएको छ।
अन्टुकका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्य तथा तेजबहादुर थारुको अध्यक्षतामा भएको भेलाले तेजबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय शिवराज नगर समिति गठन गरेको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले पछिल्लो समय देशमा साम्राज्यवादी चलखेल बढ्दै गएको दाबी गर्दै राष्ट्रियताको रक्षा र मजदुरको हकहितका लागि मजदुर संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले वर्तमान सरकार गणतन्त्र र मजदुरको हकहितविरोधी रहेको आरोप लगाउँदै गणतन्त्र तथा मजदुर अधिकारको रक्षा गर्न मजदुरहरू एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए।
भेलामा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष केहर सिंह पुन मगर, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार तथा कतार नेपाली एकता समाजका पूर्वमहासचिव खिम बुढालगायतले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित समितिको उपाध्यक्षमा श्याममोहन केवट, सचिवमा रामनरेश गुप्ता र कोषाध्यक्षमा रामप्रसाद कामी चयन भएका छन्। सदस्यहरूमा अयोध्या प्रसाद रहिदास, उदयराज थारु, मञ्जु थापा, शम्भु कुर्मी, राजाराम कुर्मी, विक्रम प्रेटेल र रामकिसुन लोनिया चयन भएका छन्।
त्यस्तै वैकल्पिक सदस्यमा उमेश भर र मोहम्मद हुसेन मुल्ला तथा सल्लाहकारमा रमेश भर, हुसेन मुल्ला र रामबहादुर बुढाथोकी चयन भएको जनाइएको छ।
नवनिर्वाचित पदाधिकारीलाई जातीय समता समाज शिवराज नगर समितिका अध्यक्ष मोहन विकले बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा अन्टुक केन्द्रीय सदस्य केर सिंह अदैले सदस्यता नवीकरण तथा सदस्यता प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव रामनरेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष श्याममोहन केवटले राखेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ