चन्द्रौटा मुख्य चोकमा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालन
नवराज पौडेल कपिलवस्तु
चन्द्रौटा, कपिलवस्तु।
शिवराज नगरपालिकाले आमा तथा शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन तथा महिला–मैत्री सार्वजनिक सेवा विस्तार गर्ने उद्देश्यले चन्द्रौटा मुख्य चोकमा एसीसहितको घुम्ती स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ।

बुधबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख अजय थापाले स्तनपान कक्षको उद्घाटन गर्नुभयो। करिब ५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कक्षबाट बजार तथा सार्वजनिक स्थानमा आउने स्तनपान गराइरहेका आमाहरूले सुरक्षित, स्वच्छ, सहज र गोपनीय वातावरणमा आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन्।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अजय थापाले आमा र शिशुको स्वास्थ्य नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै स्तनपानमैत्री वातावरण निर्माणका लागि यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
आवश्यकताअनुसार आगामी दिनमा यस्ता सुविधा अन्य सार्वजनिक स्थानमा पनि विस्तार गरिने उहाँले बताउनुभयो।
उपप्रमुख शिव कुमारी थारुले शिशुको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार आमाको दूध भएकाले स्तनपानका लागि सुरक्षित र सम्मानजनक वातावरण सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। सार्वजनिक स्थानमा स्तनपान गराउनुपर्ने अवस्थाले धेरै आमाहरू असहज हुने गरेको उल्लेख गर्दै उहाँले घुम्ती स्तनपान कक्षले त्यस समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आमा र शिशुको स्वास्थ्यमा लगानी गर्नु भनेको स्वस्थ समाज निर्माणको आधार तयार गर्नु भएकाले नगरपालिकाले महिला, बालबालिका तथा मातृ स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा पनि उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाका अनुसार स्तनपान कक्षमा एसीसहित आवश्यक सुविधाको व्यवस्था गरिएको छ। यसले बजार, यात्रा वा अन्य कामका सिलसिलामा बाहिर निस्किएका आमाहरूलाई सुरक्षित, सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।














