कपिलवस्तुको शिवराज नगरपालिका वडा नं–९ मा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नवौँ शिवगढी साइनिङ स्टार कप–२०८३ को औपचारिक रूपमा उद्घाटन भएको छ।
विगत थुप्रै वर्षदेखि कृष्ण जन्म अष्टमीको अवसरमा शिवगढी साइनिङ स्टार युवा क्लबले यस आयोजनालाई निरन्तरता दिदै आएको छ प्रतियोगितामा युवा क्लब, महिला तथा अन्डर–१४ विधातर्फ गरी जम्मा ४८ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानज्योति युवा क्लब उमरी र प्रगतिशील युवा क्लब चमोरभोजियाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ज्ञानज्योति युवा क्लब उमरी विजयी भएको छ।
खेल सुरु हुनुअघि बलात्कार पीडित गरिमा चौधरीका लागि न्यायको माग गर्दै आवाज उठाइएको थियो। साथै पाकिस्तानमा पर्वतारोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)प्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो।
क्लबका अध्यक्ष अनिल थारूको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिवराज नगरपालिका–९ का वडा अध्यक्ष रामगोपाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पूर्व वडा अध्यक्ष चुरबहादुर खडका विशिष्ट अतिथि रहनुभएको थियो।
त्यस्तै वडा सदस्यहरू लक्ष्मी भट्टराई र जोख बहादुर पुन, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न सरस्वती मा वि बानियाभारका प्र अ बिक्रम के सी र अन्य अतिथि, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामगोपाल चौधरी र विशिष्ट अतिथि चुरबहादुर खडकाले शुभकामना मन्तव्य राख्दै खेलकुदले युवाको प्रतिभा विकाससँगै अनुशासन, स्वास्थ्य र सामाजिक एकताको भावना बलियो बनाउने बताउनुभयो।
प्रतियोगिताले स्थानीय तथा आसपासका क्षेत्रका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।














