उद्यमीलाई स्वावलम्बी बनाउने शिवराजको पहल । स्टार्टअप उद्यमीहरूका लागि कर्जा सञ्चालन ।

नवराज पौडेल कपिलवस्तु ,
शिवराज नगरपालिकाले स्टार्टअप उद्यमीहरूका लागि नयाँ अवसरको ढोका खोलेको छ । अब शिवराज नगरपालिकामा रहेका नवउद्यमीहरूले आफ्नो व्यवसायलाई नयाँ उचाइमा लैजान सक्ने सुनौलो अवसर पाएका छन्। नगरपालिका अन्तर्गत कार्यान्वयनमा ल्याइएको “स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१” काे प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका सक्रिय बनेको छ।यहि बैशाख २३ गते मंगलवार बसेको स्टार्टअप उद्यम कार्यान्वयन समितिको बैठकले, तय गरिएका मापदण्डहरू पूरा गर्ने इच्छुक उद्यमीहरूबाट परियोजना प्रस्ताव माग गर्ने निर्णय गरेको हो।
अब उद्यमीहरूले “अनुसूची १” मा उल्लेखित ढाँचामा आफ्ना परियोजना प्रस्तावहरू तयार पार्नुपर्नेछ। प्रस्तावमा परियोजनाको उद्देश्य, काम गर्ने क्षेत्र, लागत अनुमान, हालसम्म भएको खर्च र व्यवसाय सुरु भएको समयसमेत समेटिनुपर्नेछ ।
कर्जाका लागि उद्योग, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्र,स्थायी लेखा नम्बर (PAN) को प्रमाण,अघिल्लो वर्षको कर चुक्ता प्रमाणपत्र, प्रतिनिधिको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने सुचनामा उल्लेख गरिएको छ ।
शिवराज नगरपालिकाले नवप्रवेशी व्यवसायीहरूलाई स्वावलम्बी बनाउन, रोजगारी सिर्जना गर्न र स्थानीय आर्थिक विकासमा योगदान दिन चाहेको नगर प्रमुख अजय थापाले बताउनु भयो । स्थानीय उद्यमीहरूका लागि यो अवसर कर्जा मात्र नभइ भविष्य निर्माण गर्ने आधार बन्न सक्ने उहाँले बताउनु भयो ।
साथै यस योजनाले स्थानीय स्तरमै नवप्रवर्तनशील उद्यम, स्वरोजगार र आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्ने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनु भयो उहाँले नगरमा रोजगारी सिर्जना गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ