२५६९ औं बुद्ध जयन्तीको अवसरमा तुल्सिपुरमा भव्य प्रभातफेरी सम्पन्न ।।

२५६९ औं बुद्ध जयन्तीको अवसरमा तुल्सिपुरमा भव्य प्रभातफेरी सम्पन्न ।।

नवराज पौडेल कपिलवस्तु ।।
शान्ति र अहिंसाका अग्रदूत भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल सितोरियो कराते संघ लुम्बिनी प्रदेश र सितोरियो कराते संघ दाङको संयुक्त आयोजनामा तुल्सिपुरमा एक भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले बुद्धका शान्ति सन्देशलाई जनस्तरसम्म पुर्‍याउने र खेलमार्फत सामाजिक जागरण ल्याउने उद्देश्य लिएको थियो।
कार्यक्रम संघका अध्यक्ष सन्तोष सिंहको संयोजनमा बिहान ठीक ७ बजे तुल्सिपुर-५ स्थित बेलुवाको कराते प्रशिक्षण केन्द्रबाट सुरु भएको थियो। प्रभातफेरी तुल्सिपुर बजारका विभिन्न भागहरूको परिक्रमा गर्दै अरनिको मैदानमा  पुगेर समापन गरिएको थियो। परिक्रमा मार्गमा सहभागीहरूले कराते पोशाकमा अनुशासित र शालीन प्रस्तुतिले नगरवासीको ध्यान तानेका थिए। साथै, उनीहरूले “शान्ति, सद्भाव र स्वास्थ्यका लागि कराते” भन्ने नारासमेत लगाएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट आएका कराते खेलाडीहरू, प्रशिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उत्साह र अनुशासनले सम्पूर्ण कार्यक्रमलाई थप प्रभावशाली बनाएको आयोजकहरूले बताएका छन्।
प्रभातफेरीपश्चात आयोजित औपचारिक सभामा प्रमुख अतिथि नेपाल कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै कराते खेलको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले “कराते केवल खेलमात्र  नभई अनुशासन, आत्मरक्षा र मानसिक सुदृढताको प्रतीक हो। यस्तो कार्यक्रममा सहभागी हुनु कराते परिवारकै साझा पहिचान हो, र बुद्धको सन्देशलाई जीवनशैलीमा आत्मसात् गर्ने माध्यमसमेत रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष सन्तोष सिंहले लुम्बिनी प्रदेशभरिका खेलाडीको सहभागिताले कार्यक्रमको स्तर उच्च भएको र भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभिभावक र स्थानीय समुदायको सक्रिय सहभागिता र समर्थनप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमको अन्त्यमा कराते खेलाडीहरूले छोटो प्रदर्शनी समेत प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई करातेको कलात्मकता, सन्तुलन र अनुशासनप्रति झनै आकर्षित बनाएको थियो ।


यस प्रकारको खेल-आधारित सामाजिक गतिविधिले युवाहरूमा सकारात्मक सोच, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताएका छन्। बुद्ध जयन्ती जस्तो ऐतिहासिक अवसरलाई खेलमार्फत सामाजिक सद्भाव र शान्तिको सन्देश फैलाउने प्रयासलाई सहभागीहरू तथा स्थानीयवासीहरूले उच्च मूल्यांकन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ