साइनिङ स्टार कपको पुरुषतर्फ फाइनलमा जनआदर्श र शिवगढी स्पोर्टिङ

कपिलवस्तु । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको शिवगढी साइनिङ स्टार कपको पुरुषतर्फको फाइनलमा जनआदर्श युवा क्लब र शिवगढी स्पोर्टिङ तुरन्तपुर भिड्ने भएका छन्।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ शिवगढी साइनिङ स्टार युवा क्लबले विगत लामो समयदेखि निरन्तर आयोजना गर्दै आएको प्रतियोगिताको यस संस्करणमा पुरुष, महिला तथा विभिन्न उमेर समूहका गरी कुल ४८ टोलीले सहभागिता जनाएका थिए।
आज सम्पन्न पुरुषतर्फका सेमिफाइनल खेलमा शिवगढी स्पोर्टिङ तुरन्तपुरले न्यु सिर्जनशील युवा क्लब भगवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा शिवगढी स्पोर्टिङले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो।
त्यस्तै, अर्को सेमिफाइनलमा जनआदर्श युवा क्लब र आयोजक शिवगढी साइनिङ स्टार युवा क्लबबीच निर्धारित समयमा खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो। पेनाल्टीमा जुनादर्श युवा क्लबले ५–४ गोल अन्तरले आयोजकलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।
अब पुरुषतर्फको उपाधिका लागि जनआदर्श युवा क्लब र शिवगढी स्पोर्टिङ तुरन्तपुरबीच रोमाञ्चक फाइनल प्रतिस्पर्धा हुने भएको छ।
यता महिलातर्फको फाइनलमा जागृति युवा क्लब रहतकोल र ड्रीम युनाइटेड न्यौलीगञ्ज आमनेसामने हुने भएका छन्।
लामो समयदेखि स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको साइनिङ स्टार कपको फाइनल खेलमा दर्शकको समेत उल्लेख्य उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ