ग्यास छैन भन्दै उपभोक्ता फर्काइएपछि बोरामा लुकाएर ग्यास लैजाँदै गरेको भिडियो सार्वजनिक

ग्यास छैन भन्दै उपभोक्ता फर्काइएपछि बोरामा लुकाएर ग्यास लैजाँदै गरेको भिडियो सार्वजनिक

कपिलवस्तुको  शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित सुनिल किराना पसलमा ग्यासको कालोबजारी भएको आरोप लागेको छ। पसलबाट ग्यासका सिलिन्डर बोरामा लुकाएर मोटरसाइकलमा लैजाँदै गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे प्रश्न उठेको हो।
ममता खनालको फेसबुक पेजबाट सार्वजनिक भिडियोमा दुई जना मोटरसाइकलमा आएर ग्यासका सिलिन्डर बोरामा राखेर लैजाँदै गरेको देखिन्छ। खनालले आफूहरू अघिल्लो दिन ग्यासका लागि लाइनमा बसे पनि पसलले ‘ग्यास छैन’ भन्दै फर्काएको दाबी गरेकी छन्।
‘हिजो हामी ग्यासका लागि लाइनमा बसेका थियौं। ग्यास छैन भनेर पठाइयो,’ खनालले भिडियोमा भनेकी छन्, ‘तर आज ग्यास बोरामा लुकाएर लगिएको देखियो।’
उनका अनुसार ग्यास लिएर मोटरसाइकलमा गएको केही समयपछि आफू पुनः पसलमा पुगेर ग्यास मागेकी थिइन्। तर पसलबाट आफूलाई ‘तपाईं हाम्रो दैनिक ग्राहक होइन’ भन्दै ग्यास नदिई फर्काइएको उनको दाबी छ।
स्थानीय स्रोतका अनुसार पसलले डिलरबाट एकपटकमा करिब ४० देखि ८० सिलिन्डरसम्म ग्यास ल्याउने गरे पनि सर्वसाधारणलाई करिब ३५ सिलिन्डर मात्र वितरण गर्ने र बाँकी गोदाममा राख्ने गरेको आरोप छ। ग्यास अभाव देखाउँदै बाँकी सिलिन्डर महँगो मूल्यमा बिक्री गर्ने गरिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार प्रतिसिलिन्डर २ हजार ५०० देखि ३ हजार रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरिएको आरोप छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
अत्यावश्यक वस्तु ग्यासमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरिएको भए त्यो उपभोक्तामाथिको गम्भीर अन्याय हुने स्थानीयको भनाइ छ। उनीहरूले सम्बन्धित निकायसँग पसलको ग्यास स्टक, खरिद–बिक्री विवरण र मूल्यबारे तत्काल अनुगमन तथा छानबिन गर्न माग गरेका छन्।
घटनाबारे पसल सञ्चालकको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। सम्बन्धित निकायको छानबिनपछि मात्रै सार्वजनिक भिडियो र लगाइएका आरोपको वास्तविकता स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ