एसईईमा उत्कृष्ट विद्यार्थीलाई फफुरी बोर्डिङ स्कुलद्वारा सम्मान
शिवराज, असार १५
शिवराज नगरपालिका–स्थित फफुरी बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।
विद्यालयबाट एसईईमा सहभागी भएका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने छात्रा सोमैया खातुनलाई विद्यालयले नगर प्रथम बन्न सफल भएको अवसरमा विशेष सम्मानसहित मायाको चिनो प्रदान गरेको हो। सोमैयाले ३.९५ जिपिए ल्याउँदै नगरमै सबैभन्दा राम्रो नतिजा ल्याएकी हुन्।
सो अवसरमा विद्यालय प्रशासनले परीक्षा दिएका २९ जना विद्यार्थीमध्ये उत्तीर्ण भएका २६ जनालाई पनि सम्मान गरेको थियो। तिनीहरूमध्ये ७ जना A+, ८ जना A र ७ जना B+ ग्रेड प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मानपत्र, पुरस्कार र मायाको चिनो प्रदान गरिएको विद्यालयका प्राचार्यले जानकारी दिए।
कार्यक्रममा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
समारोहमा वक्ताहरूले विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता र अभिभावकको सहयोग नै विद्यालयको सफलताको मूल आधार भएको बताएका थिए।
यस वर्षको एसईई नतिजा विश्लेषण गर्दा शिवराज नगरपालिकामा ४ जिपिए ल्याउने कोही नभए पनि फफुरी बोर्डिङ स्कुल नगरकै शिर्ष स्थानमा रहेको छ, जसले नगरकै शैक्षिक क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ।













