शिवराज नगरपालिका वडा नम्बर ८ मा ३६ लाखको बाध, अलपत्र ।। किसान सिचाइ विहीन ।।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ८ मा रहेको सिचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको ३६ लाख रुपैयाँ बराबरको बाध पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। निर्माण सुरु भएदेखि नै प्रदेश सरकारको ध्यान नपुग्दा स्थानीय किसानहरू विगत पाँच वर्षदेखि खेतीपातीमा आकाशे पानीकै भर पर्न बाध्य रहेका छन ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको पहलमा किसानहरूलाई सिचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बाध निर्माण थालिएको थियो। निर्माण सुरु भएलगत्तै केही संरचना बनाइए पनि बजेट अभाव देखाउँदै बाँकी काम रोकिएको छ। त्यसयता सम्बन्धित निकायहरूले पटक–पटक ध्यानाकर्षण गराइए पनि समाधान नहुँदा किसानहरू निराश भएका छन्।
३६ लाख बराबरको संरचना अहिले घाँस र झाडीले ढाकिएको छ। यत्रो रकम खर्च गरेर बनाएको बाध हेर्ने मान्छे कोही छैन। खेतीमा पानी चाहिने बेला हामी अझै पनि आकाशे पानी पर्खेर बस्नुपर्छ।” स्थानीय राम सेवक यादवले गुनासो गरे ।
बाध निर्माणको क्रममा प्रयोग गरिएका कंक्रिट, ग्याबियन पर्खाल, र ढलान समेत अहिले जीर्ण बन्दै गएको देखिन्छ। दीर्घकालीन सिचाइ समाधानको आशा बोकेका किसानहरू अहिले प्रदेश सरकार र स्थानीय सरकार दुबै निकायको उदासिनताले वञ्चित भएका छन्।
स्थानीय कृषक अवार खान भन्छन्, “यहाँ किसानले हेर्नु परेको दुःख सरकारलाई देखिँदैन। बाध बनाउने नाममा रकम खर्च भयो तर काम सम्पन्न भएन। अनुगमन गर्ने निकाय पनि चुप छन्। पाँच वर्षदेखि यस्तो छोडिएको संरचनाले विकासको नाममा भएको खर्चमाथि प्रश्न उठाएको छ। आगामी चुनावमा केसिलाइ बाध देखाउने भन्दै आक्रोश ब्याक्त गरे ।
यस क्षेत्रको प्रमुख कृषि उत्पादन धान, गहुँ, तरकारी भए पनि सिचाइको उचित व्यवस्था नहुँदा उत्पादनमा ह्रास आएको छ। स्थानीयहरू भन्छन् — खेतीमा पानी नहुँदा कतिपय किसानले जग्गा बाँझै छोड्न थालेका छन्।
प्रदेश सरकारले निजि पलटिङमा १ करोड ७० लाख सम्म बिनियोजन गर्दा यता बाध निर्माणमा भने बजेट अभाव भन्दै मुख फर्काइरहँदा, स्थानीय किसानहरू भने वर्षेनी उस्तै समस्याको चक्रमा फसिरहेका छन्। अहिले पनि सिचाइका लागि साना नहर र व्यक्तिगत ट्युबवेलको भर पर्नुपर्ने अवस्था छ, जुन सबैका लागि सहज छैन।
स्थानीय जनप्रतिनिधिहरूले पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरेको भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन । वडा नम्बर ८ का वडाध्यक्ष रिजवान अहमद खानले “हामीले पटक–पटक प्रदेश सरकारलाई जानकारी गराएका छौं। तर बजेट विनियोजन नहुँदा काम अघि बढ्न सकेको छैन। अब फेरि पहल गर्ने योजना छ।”
विकासका नाममा सुरु गरिएका अधुरा योजना किसानहरूको जीवनमा बोझ मात्र बनेका छन्। शिवराज नगरपालिका वडा नम्बर ८ का बासिन्दाहरू सरकारसँग तत्काल समस्या समाधानका लागि कडा पहल गर्न आग्रह गर्दै आएका छन्।
यता पानी भण्डारण र सिचाइ सुबिधाका लागि बाध निर्माण कार्य अगाडि बढाइएको भए पनि काम गर्दा विवाद उत्पन्न हुदा बजेट बिनियोज गर्न नसकिएको जनाउदै आगामी योजनामा बजेट ब्यावस्थापन गर्ने प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले बताउनु भयो ।













