बालबालिकाका लागि कराते : शारीरिक, मानसिक र सामाजिक विकासको आधार

बालबालिकाका लागि कराते : शारीरिक, मानसिक र सामाजिक विकासको आधार
युवादेखि वयस्कसम्मका लागि कराते तन्दुरुस्ती कायम राख्ने, आत्मविश्वास बढाउने र तनाव व्यवस्थापन गर्ने उपयोगी अभ्यास बन्न सक्छ।
नेपालमा करातेको सम्भावना
नेपालमा कराते विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म लोकप्रिय बनेको छ। पछिल्ला वर्षहरूमा नेपाली खेलाडीहरूले एशियाली र दक्षिण एसियाली प्रतियोगितामा पदक जित्दै देशको नाम उच्च बनाएका छन्।
नियमित अभ्यास गर्ने युवाले राष्ट्रिय खेलाडी बन्ने अवसर पाउने सम्भावना हुन्छ भने प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी वा फिटनेस प्रशिक्षकका रूपमा पनि करिअर बनाउन सकिन्छ।
कराते संघ, डोजो, स्कुल र क्लबहरू सक्रिय भइरहेकाले यो खेलमा भविष्य सुरक्षित गर्ने वातावरण अझ सहज बन्दै गएको छ।
बालबालिकालाई हुने फाइदा
कराते अभ्यासले साना बालबालिकाको शारीरिक मात्र होइन, मानसिक र सामाजिक विकासमा पनि योगदान पुर्‍याउँछ। यसले शरीरको लचकता, शक्ति र सहनशीलता बढाउँछ भने अनुशासन, आत्मनियन्त्रण र आत्मविश्वासमा पनि सुधार ल्याउँछ।
साथै साथीहरूसँग सहकार्य गर्ने, नियम पालना गर्ने र अरूलाई सम्मान गर्ने जस्ता सामाजिक सीप सिकाउँछ। आत्मरक्षाका आधारभूत उपाय सिकेर बच्चामा आत्मनिर्भरता बढ्छ र पढाइमा ध्यान दिने क्षमता तथा एकाग्रता पनि मजबुत हुन्छ।
कराते र ध्यानको सम्बन्धकराते केवल प्रहार वा आत्मरक्षासम्म सीमित छैन, यसमा ध्यानको अभ्यास पनि जोडिएको हुन्छ। प्रहार वा चाल श्वाससँग मिलाएर गर्ने अभ्यासले मनलाई एकाग्र बनाउन सहयोग गर्छ।
प्रतिद्वन्द्वीलाई बुझ्न, प्रहार रोक्न वा सही समयमा प्रहार गर्न गहिरो एकाग्रता आवश्यक हुन्छ। कराते अभ्यासले आक्रमणभन्दा बढी आत्मनियन्त्रणलाई प्राथमिकता दिन्छ, जसमा ध्यानले रिस, डर र तनाव नियन्त्रणमा मद्दत पुर्‍याउँछ।
यसरी करातेमा शरीर र मनको तालमेल महत्वपूर्ण हुन्छ र ‘की’ अर्थात् प्राणशक्ति पनि ध्यानकै अभ्यासमार्फत विकास हुन्छ।
कराते अभ्यास सुरु गर्नु अघि र अन्त्यमा गरिने ‘मोकोसो’ नामक मौन ध्यानले विद्यार्थीलाई तनावमुक्त बनाउन सहयोग गर्छ। जापानी परम्परासँग सम्बन्धित जाजेन ध्यानमा पद्मासनमा बसेर श्वास नियन्त्रण गर्दै मनलाई शून्य अवस्थामा ल्याइन्छ, जसले मानसिक स्थिरता र धैर्य बढाउँछ।
करातेमा प्रयोग हुने ‘काटा’ भन्ने निश्चित चालहरूको शृंखला पनि ध्यानको एक रूप हो, जसलाई मनोयोगका साथ अभ्यास गर्दा यो चलायमान ध्यानमा परिणत हुन्छ।
प्रहार गर्ने क्रममा निकालिने ‘किआइ’ भनिने शक्ति ध्वनि भने केवल आवाज मात्र नभई आत्मबल र आत्मविश्वास जागृत गर्ने साधन मानिन्छ।

कराते केवल शारीरिक अभ्यास होइन, मानसिक अनुशासन र जीवनशैली सुधार गर्ने मार्ग हो। बालबालिकादेखि युवा र वयस्कसम्म सबैका लागि उपयुक्त यो खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना बोकेको छ।
नियमित अभ्यास गर्ने बालबालिका र युवा स्वस्थ, आत्मविश्वासी र जिम्मेवार नागरिक बन्न सक्ने आधार निर्माण हुन्छ।
यसकारण करातेलाई खेलमात्र होइन, जीवनपद्धतिसँग जोडिएको सम्पूर्ण अनुशासनको अभ्यासका रूपमा लिन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ