शिवराजका ८५१ विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति ।।२३ विद्यालयद्वारा दुई करोडभन्दा बढी सहयोग ।।
नवराज पौडेल कपिलवस्तु ,,
शिवराज नगरपालिकाभित्रका संस्थागत (निजी) विद्यालयहरूले यस शैक्षिक वर्ष २०८२ मा ८५१ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति प्रदान गरेका छन्। नगरपालिकाको समन्वयमा सञ्चालित २३ वटा निजी विद्यालयहरूले विपन्न, जेहेन्दार र आवश्यकताअनुसार छनोट गरिएका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएका हुन्।
नगरपालिकामा रहेका विद्यालयहरूले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्ने परम्परा अनुरूप यो वर्ष पनि द्वन्द्वपीडित, जेहेन्दार, विपन्न, जनजाति, दलित, अपाङ्ग र अन्य वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन । यस कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीलाई शिक्षामा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुर्याएको जनाइएको छ।
शिवराज नगरपालिकाको शिक्षा शाखाका अनुसार यस वर्ष छात्रवृत्ति वितरण गर्ने विद्यालयहरूमा शिवगढी ईङ्गलिस स्कुल, दीपज्योति विद्या मन्दिर, शिवपुर ईङ्गलिस स्कुल, यूनिक पब्लिक ऐकेडेमी, जेनिथ इंग्लिस बोर्डिङ स्कुल, गोल्डेन पार्कस् ऐकेडेमी, हंश वाहिनी चिल्ड्रेन एकेडेमी, अक्सफोर्ड इ. बोर्डिङ स्कूल, फरमोष्ट ईङ्गलिस बोर्डिङ्ग स्कुल, मोनालिसा इण्टरनेशनल इङ्गलिस स्कूल, बाल संसार शैक्षिक प्रतिष्ठान, फफूरी ईङ्गलिस बोर्डिङ्ग स्कुल, मेरील्याण्ड चिल्ड्रेन एकेडेमी, आवर मदरल्याण्ड एकेडेमी, सनराइज इङ्गलिस बोर्डिङ्ग स्कुल, ब्राइट स्टार इङ्गलिस बोर्डिङ्ग स्कुल, शिव आदर्श इङ्गलिस बोडिंग स्कूल, तौलेश्वर एकेडेमी, सनग्लो चिल्ड्रेन बोर्डिङ्ग स्कुल, पायोनियर चिल्ड्रेन एकाडेमी, न्यू ग्रेट एम एकेडेमी, विजय श्वेत सम्राट ईङ्गलिस स्कूल र गोल्ड स्टार ईङ्गलिस बोर्डिङ्ग स्कूल रहेका छन्।
यी विद्यालयहरूले वार्षिक जम्मा रु २ करोड ५ लाख ३५ हजार ९८५ बराबरको छात्रवृत्ति वितरण गरेका छन्।
नगर प्रमुख अजय थापाले शिक्षामा सबै वर्गको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै
शिक्षा सबैको मौलिक अधिकार भएको उल्लेख गर्नुभयो । कुनै पनि बालबालिका आर्थिक अभावका कारण विद्यालय बाहिर रहन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। नगरभित्रका निजी विद्यालयहरूले गरेको योगदान सराहनीय र अनुकरणीय कार्य रहेको उहाले बताउनु भयो ।
शिवराज नगरपालिकाले हरेक वर्ष निजी विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्तिको विवरण संकलन गर्दै आएको छ। यस वर्षको तथ्यांकले शिक्षामा समान अवसर र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने नगरको प्रयासलाई थप बल मिलाएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले बताउनु भयो ।
उहाँका अनुसार, निजी विद्यालयहरूको सक्रिय सहभागिता र नगरपालिकाको समन्वयले समावेशी शिक्षाको अभ्यासलाई सुदृढ बनाएको बताउनु भयो ।














