मैनार थारु गाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न

मैनार थारु गाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–३ अन्तर्गत अवस्थित मैनार थारु गाउँमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राजमो मैनार गाउँ कमिटीका अध्यक्ष श्यामलाल थारु को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय दलका सदस्य तथा जनप्रतिनिधिको उपस्थिति उल्लेख्य थियो।

प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले नेपालका विभिन्न ऐतिहासिक राजनीतिक उतार–चढाव, जनयुद्ध र जनआन्दोलन, वर्तमान सत्ता समीकरण तथा सरकारका गतिविधिप्रति राजमोको धारणाबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो।

उहाँले समसामयिक राजनीतिक अवस्थालाई सम्बोधन गर्दै सत्य कुरा बुझ्न समय लाग्छ” भन्दै राणा शासन र पञ्चायती व्यवस्थाको समयको तुलना उदाहरणसहित प्रस्तुत गर्नुभयो। तत्कालीन समयमा शासन विरुद्ध बोल्ने वातावरण नभए पनि जनताले बिस्तारै बुझ्दै गएर परिवर्तनमा निर्णायक भूमिका खेलिएको उल्लेख गर्दै उहाँले वर्तमान राजनीतिक प्रवृत्तिले फेरि नयाँ सोच र वैकल्पिक धारणाको आवश्यकता औंल्याइदिएको बताउनुभयो।

राष्ट्रिय जनमोर्चा सानो छ, मान्छे छैन भन्ने बुझाइ गलत होभन्दै ठूला दलहरूले गठन गरेका सत्ता गठबन्धन दुई दिनमै ढलेको घटना देशकै राजनीतिक चित्र बदलिएको प्रमाण भएको टिप्पणी गर्नुभयो। अझै पनि सही र गलत छुट्याउन मतदाताले समय लिने उहाँको धारणा थियो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति सदस्य रामदेव कुर्मी ले स्वागत मन्तव्य राख्नुभएको थियो। पार्टीका स्थानीय कार्यकर्ता शंकर थारु ले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

राष्ट्रिय जनमोर्चाले आगामी मंसिर २४ गते चन्द्रौटामा आयोजना हुन लागेको जिल्ला स्तरीय सभालाई सफल पार्न पछिल्लो केही सातादेखि गाउँ–गाउँमा भेला, बैठक र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ। यस्तो कार्यक्रमले संगठन विस्तार मात्र नभई सही राजनीतिक शिक्षा र जनचेतना अभिवृद्धिमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ