शिवराजका युवा सडकमा अवैध यौन व्यापार बन्द गर्न अपिल

शिवराजमा युवाद्वारा सुसस्कृत समाज निर्माणको अभियान, अवैध गतिविधि नियन्त्रणमा सहकार्यको अपिल

कपिलवस्तु ।

लागुऔषधको बढ्दो दुरुपयोग तथा केही होटलहरूको नाममा अवैध यौनजन्य व्यापार र अबान्छित गतिविधि चलेको जनगुनासो बढेपछि शिवराजका युवाहरू शनिबार  ‘सुसस्कृत समाज निर्माण अभियान’ लिएर सडकमा उत्रिएका छन् ।

शिवराज–१ को जयबुद्ध खेलमैदानमा भेला भएका युवा समूहले अवैध गतिविधि नियन्त्रण गर्दै असल व्यवसायीलाई सम्मानजनक वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । सो क्रममा आयोजित छलफल तथा अन्तरक्रियामा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरे, वडा नम्बर १ का वडा अध्यक्ष खिमबिक्रम केसी र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीको सुझाव, धारणा र प्रतिवद्धता सुनेका युवाहरूले अभियानमा सहकार्यको अपिल गरे ।

जयबुद्ध खेलमैदानबाट निस्किएको र्‍याली शिवराज–१ उमरी चोक, चन्द्रौटा बजार र मुख्य राजमार्ग हुँदै प्लेकार्ड सहित परिक्रमा गरिएको थियो । र्‍यालीले अवैध गतिविधि रोक, लागुऔषधमुक्त समाज, स्वस्थ व्यवसायिक वातावरण जस्ता चेतनामूलक सन्देश प्रवाह गरेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष खिमबिक्रम केसीले समाज सुधारका लागि युवाहरूको जागरुकता र पहल प्रशंसनीय रहेको बताउँदै सकारात्मक अभियानमा वडा कार्यालय सदैव साथमा रहने  बताउनु भयो ।

त्यस्तै वडाका प्रहरी प्रमुख सन्तोष घिमिरेले सहि सूचनाका आधारमा गल्ती गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउने  प्रतिवद्धता व्यक्त गर्दै   कानून अनुसार कडाइका साथ अगाडि बढ्ने  बताउदै सुचना दिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्तीले अवैध गतिविधिमा संलग्न होटलहरूलाई पहिचान गरी कारवाही प्रक्रियामा सहयोग गर्न आफुहरू तयार रहेको प्रतिक्रिया दिँदै “व्यवसायको नाममा बदनामी ल्याउनेहरूलाई बचाउन संघ अग्रसर नहुने बताउनु भयो ।

युवाहरूको यस अभियानलाई स्थानीयवासी, सामाजिक अभियन्ता तथा व्यवसायीहरूले स्वागत गरेका छन् । शिवराजका युवाहरूले निरन्तर निगरानी, सूचना आदान–प्रदान र एक्यवद्धतासहित अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ