शिवराजमा ऐतिहासिक राजकुलो सफाइ, कृषिमा नयाँ आशा
कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत वडा नम्बर २, ५ र ६ मा सिँचाइको मुख्य आधारका रूपमा रहेको ऐतिहासिक राजकुलो सफाइ गरिएको छ। लामो समयदेखि मर्मत तथा सरसफाइको अभावमा प्रयोगविहीन बन्दै गएको राजकुलो बेलायती सरकारको १९ लाख ५० हजार ३ सय ८० रुपैयाँ आर्थिक सहयोग तथा People in Need (PIN) र DanChurch Aid (DCA) सँगको साझेदारीमा सञ्चालित “RAIN: Resilience, Adaptation, and Inclusion in Nepal” परियोजना अन्तर्गत जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (LI-BIRD) ले शिवराज नगरपालिकामा राजकुलो पुनःस्थापना सम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ। उक्त गतिविधि जलवायु परिवर्तनको असर न्यूनीकरण, कृषिमा पानीको सुनिश्चितता तथा स्थानीय समुदायको जीविकोपार्जन सुदृढीकरण गर्ने उद्देश्यले अघि बढाइएको हो।

राजकुलो सफाइ कार्य सम्पन्न भएसँगै अब यस क्षेत्रका हजारौँ बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ। नगर प्रमुख अजय थापाले राजकुलोको नियमित सञ्चालनले कृषिमा निर्भर किसानहरूको उत्पादन वृद्धि हुनुका साथै खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँका अनुसार यो कार्यक्रम किसानका लागि दीर्घकालीन रूपमा कोसेढुङ्गा साबित हुनेछ।
नगर प्रमुख थापाले शिवराज नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर योजना अघि बढाइरहेको उल्लेख गर्दै आगामी हिउँदे नगरसभाबाट नगरभित्र रहेका सबै राजकुलोहरूको पहिचान गरी चरणबद्ध रूपमा सफाइ तथा संरक्षणका लागि बजेट विनियोजन गरिने जानकारी दिनुभयो। “राजकुलो हाम्रो कृषि सभ्यतासँग जोडिएको सम्पत्ति हो, यसको संरक्षण र उपयोग नगरपालिकाको जिम्मेवारी हो,” उहाँले भन्नुभयो।
राजकुलो सफाइ कार्यक्रम सञ्चालन हुँदा स्थानीय जनप्रतिनिधि, किसान, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी किसानहरूले वर्षौंदेखि सिँचाइ अभावका कारण खेती प्रभावित हुँदै आएको बताउँदै राजकुलो पुनः सञ्चालनमा आएपछि धान, गहुँ, तरकारी तथा नगदे बाली उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
स्थानीय किसानका अनुसार समयमै सिँचाइ सुविधा नहुँदा खेती आकाशे पानीमा निर्भर रहनुपर्ने बाध्यता थियो। राजकुलो सफाइपछि भने खेतीपातीमा नियमित पानी पुग्ने भएकाले लागत घट्ने र आम्दानी बढ्ने अपेक्षा गरिएको छ। यसले किसानको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्याउने जनाइएको छ।
शिवराज नगरपालिकाले राजकुलो सफाइसँगै यसको दीर्घकालीन संरक्षणका लागि स्थानीय उपभोक्ता समिति गठन, नियमित मर्मत तथा अनुगमन गर्ने योजना समेत बनाएको छ। नगरपालिकाका अनुसार संघ–संस्था र स्थानीय समुदायको सहकार्यमा यस्ता संरचनाको संरक्षण गरिएमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।
राजकुलो सफाइ कार्यक्रमले सिँचाइ सुविधा विस्तार मात्र नभई स्थानीय रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र किसानको आत्मविश्वास बढाउने काम गर्ने विश्वास लिइएको छ। स्थानीयवासीहरूले यस्तो कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकासँग आग्रह गरेका छन्।













