विचारविहीन रजौरिया, पुरानो मत जोगाउनै सकस ।।
काठमाडौं बसेर समाजसेवा गरेको दाबी गर्ने प्रकाश रजौरियाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। तर उनको राजनीतिक यात्रामा देखिएको निरन्तर दल परिवर्तन र विचारगत अस्थिरताले अहिले उनलाई आलोचनाको केन्द्रमा ल्याएको छ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को क्रेज उत्कर्षमा रहेको बेला रजौरियाले राप्रपाबाट टिकट लिएका थिए। सो समयमा उनी खुला रूपमा राजतन्त्रको वकालत गर्दै आएका थिए। तर अहिले राजनीतिक माहोल बदलिँदै जाँदा रास्वपाको बढ्दो लोकप्रियतालाई आफ्नो पक्षमा पार्ने प्रयासमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्।
स्थानीय स्रोतका अनुसार रजौरिया निर्वाचनको अघिल्लो दिनसम्म नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेका थिए। तर अन्तिम समयमा एकाएक रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका हुन्। उनको यो कदमलाई कतिपयले ‘टिकटका लागि विचार त्याग’ को उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
गत निर्वाचनमा प्रदेश सभा ‘क’का कृष्ण पौडेल र ख का जानकि प्रसाद यादबको दह्रो साथ पाएका रजौरियाले १३ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए । राजनितिक विश्लेषकहरुले उनले गत निर्वाचनको मत पनि सुरक्षित गर्न नसक्ने बताउछ्न । रास्सपाको क्षेत्रको उत्तरी भागमा केहि लहर भए पनि दक्षिण भागमा भने प्रभाव नरहेको बताइन्छ ।
कृष्णनगर नगरपालिका घर भएका रजौरिया निर्वाचनको बेला मात्र काठमाडौंबाट गृह जिल्लामा आउने गरेको आरोप पनि स्थानीय स्तरमा उठिरहेको छ। उनले आफूले काठमाडौंमै रहेर पनि नागरिकको सेवा गरेको दाबी गरे पनि कपिलवस्तुमा उनको प्रत्यक्ष उपस्थिति र योगदान कति प्रभावकारी रह्यो भन्ने विषयमा प्रश्न उठाइएको छ।
हिजोसम्म राजतन्त्रको पक्षमा खुलेर बोल्ने रजौरियाले अहिले भने त्यसको पूर्ण रूपमा विपरीत धार बोकेको दलबाट उम्मेदवारी दिनु राजनीतिक अवसरवादको संकेत भएको आलोचकहरूको भनाइ छ।














