नेपाली कांग्रेस शिवराजद्वारा प्रतिनिधिसभा चुनाव विशेष छलफल, नगरस्तरीय प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस शिवराजद्वारा प्रतिनिधिसभा चुनाव विशेष छलफल, नगरस्तरीय प्रचारप्रसार समिति गठन

नेपाली कांग्रेस शिवराज नगर समितिले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउने उद्देश्यसहित संगठन सुदृढीकरण, मतदाता पहुँच विस्तार र प्रभावकारी प्रचारप्रसारका विषयमा गम्भीर रणनीतिगत छलफल गरिएको थियो।
छलफल कार्यक्रमले शिवराज नगरभित्र चुनावी गतिविधिलाई थप सशक्त बनाउने निर्णय गर्दै नगर सभापति मधुसुदन पोखरेलको नेतृत्वमा नगरस्तरीय प्रचारप्रसार समिति गठन गरेको छ। समितिले घरदैलो अभियान, जनसम्पर्क विस्तार, युवा तथा महिला सहभागिता अभिवृद्धि र पार्टीको नीति–कार्यक्रम जनतासमक्ष पुर्‍याउने जिम्मेवारी लिनेछ।
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहले लोकतन्त्र, समावेशिता र विकासको एजेन्डालाई केन्द्रमा राखेर जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिवराज नगर कांग्रेसको एकता र सक्रियताले चुनावी नतिजा कांग्रेसको पक्षमा ल्याउने विश्वास व्यक्त गरे।

छलफलमा नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी, महासमिति सदस्य बिनोद नेपाल, जमशेर अलि मिया, जिल्ला सदस्य केशव पाण्डे, प्रदेश ३ का सभापति गोविन्दबहादुर खत्री लगायतले आ–आफ्ना धारणा राख्दै संगठनात्मक मजबुती र अनुशासित चुनावी अभियानको आवश्यकता औंल्याए।
युवा नेताहरू हरिप्रसाद पोखरेल, राजु बाबू खराल, रामेश्वर वर्मा, रामबहादुर चौधरी, रिजवान अहमदसहित शिवराज नगरका ११ वटै वडाका वडा सभापति तथा सयौं अगुवा नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम नगर सभापति मधुसुदन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। युवा नेता राजु बाबू खरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगर सचिव विष्णु पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागीहरूले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने संकल्प व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ