कपिलवस्तु–३ मा नेपाली कम्युनिस्ट पार्टी शिवराज नगरस्तरीय निर्वाचन समिति गठन

कपिलवस्तु–३ मा नेपाली कम्युनिस्ट पार्टी शिवराज नगरस्तरीय निर्वाचन समिति गठन
कपिलवस्तु ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत शिवराज नगरस्तरीय निर्वाचन समिति गठन गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नगर अध्यक्ष चुर बहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हो।
निर्वाचनमा नेकपाका उम्मेदवार एहसान खानलाई विजयी गराउने उद्देश्यसहित नगरस्तरदेखि वडा तहसम्म संगठन विस्तार र अभियान सञ्चालन गरिने नगर इन्चार्ज दिनेश पुनले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनलाई प्रभावकारी बनाउन विभिन्न विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको छ।
गठित संरचना अनुसार अनुगमन समितिको नेतृत्व इलियास मुसलमानलाई दिइएको छ। मतदाता शिक्षा तथा परिचालन समितिको नेतृत्व सीता बुढाले गर्नेछिन्, जसले मतदाता सचेतना, घरदैलो अभियान तथा मतदान प्रक्रियाबारे जानकारी दिने कार्यक्रम सञ्चालन गर्नेछिन्।
त्यसैगरी युवा तथा विद्यार्थी परिचालन समितिमा निरज मगर, पशुपति कुर्मी र मनु बुढालाई जिम्मेवारी दिइएको छ। उक्त समितिले युवाहरू र विद्यार्थीहरूलाई चुनावी अभियानमा सक्रिय रूपमा सहभागी गराउने, कार्यक्रम तथा भेला आयोजना गर्ने कार्य गर्नेछ।
मिडिया तथा प्रचार–प्रसार परिचालन समितिमा माधव बेल्वासे, पुनहरी घिमिरे र सूर्य गुरुङ लगायतलाई समेटिएको छ।
नगरस्तरीय समिति गठनसँगै अब शिवराज नगरपालिकाका सबै वडामा निरन्तर चुनावी अभियान सुरु गरिने जनाइएको छ। घरदैलो, टोलसभा, कोणसभा र जनसंवाद कार्यक्रममार्फत पार्टीको सन्देश जनतामाझ पुर्‍याइने र निर्वाचनलाई सफल बनाइने नगर कमिटीले जनाएको छ।
नेकपाले यस निर्वाचनलाई जनमुखी राजनीति र विकासमुखी एजेन्डाको आधारमा लड्ने दाबी गर्दै जनताको व्यापक समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ