कपिलवस्तु क्षेत्र नं. ३ मा चुनावी भेला सम्पन्न
सामन्तवाद र साम्राज्यवादविरुद्धको संघर्ष प्रमुख मुद्दा : कार्यवाहक अध्यक्ष नेपाली
कपिलवस्तु, तौलिहवा।
कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत अगुवा कार्यकर्ता भेला आज शिवराज नगरपालिका–३, मधवामा सम्पन्न भएको छ।
भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मी राज नेपालीले वर्तमान समयको प्रमुख राजनीतिक मुद्दा सामन्तवाद र साम्राज्यवादविरुद्धको संघर्ष भएको बताउनुभयो। उहाँले पुनरुत्थानवादी शक्ति र साम्राज्यवादी शक्तिको चलखेल बढ्दै गएको उल्लेख गर्दै राष्ट्रियता र गणतन्त्र धरापमा परेको धारणा व्यक्त गर्नुभयो।
कार्यवाहक अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी, गणतन्त्रको रक्षा तथा साम्राज्यवादविरुद्ध संघर्षलाई मुख्य एजेन्डा बनाउँदै चुनावी घोषणा–पत्र सार्वजनिक गरिसकेको जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नं. ३ बाट केर सिंह अदैलाई पार्टीले उम्मेदवारका रूपमा अघि सारेको छ। चुनावलाई सफल बनाउन राजमो नगर अध्यक्ष केहर सिंह पुनको संयोजकत्वमा १११ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ। त्यसैगरी श्यामप्रकाश खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ।
भेलाले चन्द्रौटामा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ।

भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा समानुपातिक उम्मेदवार दधिराम आचार्य, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे, जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक तथा समानुपातिक उम्मेदवार कर्मराज चौधरीले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता राजमो शिवराज नगर समितिका उपाध्यक्ष मोहन विकले गर्नुभएको थियो भने स्वागत मन्तव्य अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीले र सञ्चालन राजमो शिवराज नगर समिति सचिव श्याम खनालले गर्नुभएको थियो।














