जिल्लाको विजयनगर गाउँपालिका औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चित स्थानीय तह’ घोषणा भएसँगै कपिलवस्तुमा यस्तो उपलब्धि हासिल गर्ने स्थानीय तहको संख्या पाँच पुगेको छ। बालबालिकामा नियमित खोप सेवाको पहुँच विस्तार गर्दै आएको विजयनगरले एक वर्षमुनिका १ हजार १ सय १९ जना र ६ देखि २३ महिनासम्मका १ हजार ५ सय ६२ जना बालबालिकालाई पूर्ण खोप लगाइसकेपछि यो घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायबीचको समन्वय निर्णायक रह्यो। “कुनै पनि बालबालिका छुट्न नदिने लक्ष्यसहित घरदैलो अभियान चलाइयो, उनले भने, “त्यही निरन्तर प्रयासको परिणाम आजको घोषणा हो।

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले खोप सुनिश्चितता कार्यक्रम बालबालिकाको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। “खोप अभियानकै कारण बाल मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुगेको छ,उनले भने, अब यसलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजाने हाम्रो प्राथमिकता हो।
यसअघि जिल्लाका बुद्धभूमि, बाणगंगा र महाराजगन्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन्। विजयनगर थपिएसँगै अब पाँच स्थानीय तहले शतप्रतिशत खोप सुनिश्चितता हासिल गरेका छन् भने बाँकी पाँच स्थानीय तह पनि घोषणा प्रक्रियामा छन्।
जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदारनाथ शाहका अनुसार चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप नियमित रूपमा प्रदान गरिएको छ। घोषणा भइसकेका पालिकामा शतप्रतिशत सुनिश्चितता कायम राख्न अनुगमनलाई थप कडाइ गरिएको छ भने अन्य पालिकामा छुटेका बालबालिकालाई ‘खोजी–खोजी खोप’ अभियानमार्फत सेवा पुर्याइँदैछ।
स्वास्थ्यकर्मीहरूका अनुसार खोप कार्यक्रमको सफलतामा स्थानीय तहको प्रतिबद्धता, समुदायको सक्रिय सहभागिता र नियमित अनुगमन मुख्य आधार बनेका छन्। चुनौतीका रूपमा दुर्गम बस्ती, जनचेतनाको अभाव र केही ठाउँमा अभिभावकको हिचकिचाहट देखिए पनि ती समस्या क्रमशः घट्दै गएका छन्।
विजयनगरको यो उपलब्धिले जिल्लाका बाँकी पालिकालाई पनि प्रेरित गरेको छ














