शिवराज नगरपालिका–चन्द्रौटामा रहेको शिवराज आधारभूत सेवा अस्पतालमा भएको ३८ लाख ५६ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरण सार्वजनिक भएको एक महिनापछि शिवराज नगरपालिकाले किटानी जाहेरी दर्ता गराएको छ।
नगरपालिकाको आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अस्पतालका डा. अमित पाण्डे, तत्कालीन कार्यालय प्रमुख बिरेन्द्र मिश्रा, कर्मचारी लक्ष्मण रिमाल तथा रुक्सना खातुनको नाममा किटानी जाहेरी दर्ता गराइएको हो।
उजुरीमा चन्द्रौटामा अवस्थित आधारभूत अस्पतालमा संकलित रकममध्ये करिब ३८ लाखभन्दा बढी रकम नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको भनी देखाइए पनि वास्तविक रूपमा उक्त रकम बैंकमा जम्मा नभएको आशंका गरिएको उल्लेख छ। अस्पतालले पेश गरेका केही भौचरहरू नक्कली रहेको दाबी समेत उजुरीमा समावेश गरिएको छ।
नगरपालिकाका अनुसार अस्पताल प्रशासनले रकम बैंकमा जम्मा गरिएको भन्दै पेश गरेको भौचर नक्कली रहेको जानकारी सम्बन्धित बैंकबाट प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। रकम जम्मा गरेको भनिएका व्यक्तिहरूकै नाममा जाहेरी दर्ता गरिएको नगरपालिकाले जनाएको छ।
कार्यपालिका बैठकको निर्णयअनुसार अस्पताल विकास समितिका अध्यक्ष नेत्र बेल्बासेले सम्बन्धित निकायमा उजुरी दर्ता गराएका हुन्।
घटना सार्वजनिक भएको लामो समयसम्म पनि ठोस कारबाही प्रक्रिया अघि नबढेको भन्दै स्थानीयस्तरमा समेत चासो र दबाब बढ्दै गएको थियो। नगरपालिकाले अब घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही हुने जनाएको छ।
फोटो एआइको प्रयोग बाट निर्माण गरिएको हो ।














