कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य अस्पतालमा देखिएको ३८ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान तीव्र बनाइएको छ। गत आर्थिक वर्षको लेखापरीक्षणका क्रममा ३८ लाख १९ हजार रुपैयाँ बराबरका बैंक भौचर फेला परे पनि सम्बन्धित बैंक खातामा रकम दाखिला नभएको पुष्टि भएपछि अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठेको हो।
अस्पतालको फार्मेसी तथा विभिन्न सेवा शुल्कबाट संकलन गरिएको रकम विभिन्न मितिमा १२९ वटा भौचरमार्फत जम्मा गरिएको देखिए पनि नेपाल बैंक चन्द्रौटा शाखास्थित अस्पतालको खातामा उक्त रकम नदेखिएको स्रोतले जनाएको छ। त्यसपछि यो विषय सार्वजनिक हुँदै व्यापक चासोको विषय बनेको छ।
घटनामा अस्पतालका तत्कालीन प्रमुखदेखि स्वास्थ्य शाखा प्रमुख, फार्मेसी कर्मचारी, बैंक कर्मचारी तथा कार्यालय सहयोगीसम्म अनुसन्धानको दायरामा आएका छन्। सुरक्षा स्रोतका अनुसार शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, डा. अमित पाण्डे, तत्कालीन अस्पताल प्रमुख विरेन्द्र मिश्रा, फार्मेसी इन्चार्ज लक्ष्मण रिमाल, रुक्सना खातुन, लगायतलाई अनुसन्धानमा राखिएको छ। यस्तै बैंकतर्फबाट कमल भण्डारी र विक्रम केसीसँग पनि पक्राउ गरि ७ दिनको म्याद थप गरिएको छ।
घटना सार्वजनिक भएको करिब एक महिनापछि शिवराज नगरपालिकाले अस्पतालका चार जना कर्मचारीविरुद्ध किटानी जाहेरी दिएको थियो। त्यससँग सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि बोलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
यसबीच अस्पतालका दुई जना कर्मचारी अझै प्रहरी सम्पर्कमा आएका छैनन्। उनीहरू भारततर्फ तीर्थयात्रामा गएको जानकारी प्राप्त भएको छ। अन्य सम्बन्धित व्यक्तिहरू भने प्रहरीसमक्ष उपस्थित भइसकेका छन्।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। आर्थिक अनियमितताले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमै प्रश्न उठाएको भन्दै सर्वसाधारणले सत्यतथ्य बाहिर ल्याउन दबाब दिइरहेका छन्।














