महिला उद्यमशीलता प्रवर्द्धनका लागि १६ महिलालाई साढे चार लाख रुपैयाँ अनुदान
चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका–११ नयाँबस्तीमा आयोजित कार्यक्रममा १६ जना महिलालाई उद्यमशीलता प्रवर्द्धनका लागि कुल ४ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गरिएको छ।
स्थानीय अधिकार कार्यक्रमअन्तर्गत प्रदान गरिएको उक्त सहयोगको चेक वितरण गर्दै शिवराज नगरपालिका–४ का वडाध्यक्ष निसम अहमद खानले आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले प्राप्त रकमको सदुपयोग गर्दै आयआर्जनका काममा लगानी गर्न र समुदायमा उदाहरणीय उद्यमी बन्न आग्रह गरे।

कार्यक्रमका संयोजक अजय चौधरीले स्थानीय अधिकार कार्यक्रमले सीमान्तकृत तथा विपन्न समुदायका महिलाको सशक्तीकरण, अधिकार प्रवर्द्धन र आर्थिक उत्थानका लागि निरन्तर काम गरिरहेको बताए। उनका अनुसार कार्यक्रममार्फत महिलालाई पर्यावरणीय कृषि, तरकारी खेती तथा साना घरेलु व्यवसाय सञ्चालनमा प्रोत्साहन गरिँदै आएको छ।
शिवराज नगरपालिका–१० का वडा सदस्य गंगाराम कुर्मी र नगरपालिकाको कृषि विकास शाखाकी चित्रा पोखरेलले अनुदानको रकम उत्पादनमूलक क्षेत्रमा उपयोग गरे मात्र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे।
सिद्धार्थ सामाजिक विकास केन्द्र र ActionAid Nepal को साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम हाल शिवराज नगरपालिका–४, १० र ११ मा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई आयआर्जनका अवसर सिर्जना गर्दै आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
परियोजना संयोजक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक अमृता थारूले गरेकी थिइन्।














