नवराज पौडेल कपिलवस्तु ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको आयोजनामा होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
शिवराज नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम उपमेयर शिवकुमारी चौधरीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष पदम ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्थानीय तहले पर्यटन तथा होटल व्यवसायको विकासलाई विशेष प्राथमिकतामा राखेको बताउँदै व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले होटलमा बसोबास गर्ने प्रत्येक व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा राख्न आग्रह गर्दै सुरक्षित तथा व्यवस्थित सेवा प्रवाहमा जोड दिनुभयो। साथै होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सरसफाइ, गुणस्तरीय सेवा र पाहुनामैत्री व्यवहारलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपसचिव शिवराज सापकोटा, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु खतिवडा लगायतले पर्यटन क्षेत्रको विकाससँगै होटल तथा रेस्टुरेन्ट व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सेवामुखी बनाउन आवश्यक रहेको धारणा राखेका थिए।
तालिममा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन, ग्राहक सेवा, सरसफाइ, आतिथ्यता तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिमका क्रममा सहभागी होटल व्यवसायीहरूले चन्द्रौटामा होटल व्यवसाय सञ्चालनको समय सीमाबारे पनि गुनासो गरेका छन्। उनीहरूले अन्य स्थानमा होटल तथा रेस्टुरेन्ट व्यवसाय रातिसम्म सञ्चालन गर्न पाइने भए पनि चन्द्रौटामा भने राति १० बजे नै बन्द गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसले व्यवसायमा असर परेको बताएका हुन्। व्यवसायीहरूले पर्यटक तथा यात्रुहरूको आवागमन रातिको समयमा समेत हुने भएकाले निश्चित मापदण्डसहित होटल व्यवसाय रातिसम्म सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका छन्।

त्यस्तै व्यवसायीहरूले केही होटल तथा रेस्टुरेन्टहरूमा अवाञ्छित गतिविधि हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। केही स्थानमा यौनजन्य गतिविधि तथा जुवा–तासजस्ता गैरकानुनी क्रियाकलाप सञ्चालन भइरहेको गुनासो गर्दै यस्ता गतिविधिले समग्र होटल व्यवसायको प्रतिष्ठामाथि नकारात्मक असर परेको बताएका हुन्। उनीहरूले होटल तथा पर्यटन क्षेत्रलाई मर्यादित, सुरक्षित र परिवारमैत्री बनाउन सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालनमा उपयोगी ज्ञान र नयाँ अनुभव प्राप्त भएको बताएका छन्। आयोजक संस्थाले यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनसँगै व्यवसायिक क्षमता विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको














