शिवराजमा कुपोषणविरुद्ध स्थानीय खाद्यान्न प्रवर्द्धनको अभियान, वडा नं. ५ सबैभन्दा जोखिममा ।

शिवराजमा कुपोषणविरुद्ध स्थानीय खाद्यान्न प्रवर्द्धनको अभियान, वडा नं. ५ सबैभन्दा जोखिममा ।

नवराज पौडेल कपिलवस्तु , जेठ १८ गते सोमवर

शिवराज नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्थानीय खाद्यान्नको प्रवर्द्धन गर्ने उद्देश्यले “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत स्थानीय खाद्यान्न प्रवर्द्धन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शिवराज नगरपालिकाको आयोजना तथा कालिका स्वावलम्बन सामाजिक  केन्द्र र हेलेन केलर ईन्टरनेश्नल सस्थाको  समन्वयमा आयोजित कार्यक्रममा नगरभित्रको कुपोषण अवस्था, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहजकर्ता  सुस्मिता शर्माले प्रस्तुत गरेको तथ्यांकअनुसार शिवराज नगरपालिकामा ५ हजार १ सय ८५ जना बालबालिकाको पोषण अवस्था परीक्षण (मास स्क्रिनिङ) गरिएको थियो। परीक्षणमा ४ हजार ८ सय ७६ जना बालबालिका सामान्य अवस्थामा रहेको पाइएको छ भने २ सय ६४ जना मध्यम कुपोषण र ४५ जना गम्भीर कुपोषण  बाट प्रभावित रहेको तथ्य सार्वजनिक गरिएको छ।
वडागत विवरणले शिवराज नगरपालिका ५ मा कुपोषणको समस्या सबैभन्दा बढी रहेको देखाएको छ। उक्त वडामा ८ सय ४६ जना बालबालिकाको परीक्षण गर्दा ३६ जना मध्यम तथा ७ जना गम्भीर कुपोषित भेटिएका छन्। त्यस्तै वडा नं. ६ र वडा नं. ११ मा ४३–४३ जना मध्यम कुपोषित बालबालिका फेला परेका छन्। वडा नं. १ मा २४ जना मध्यम र ८ जना गम्भीर, वडा नं. ४ मा २७ जना मध्यम र ५ जना गम्भीर तथा वडा नं. ८ मा १९ जना मध्यम र ६ जना गम्भीर कुपोषित बालबालिका रहेको तथ्यांकले देखाएको छ।
प्रस्तुत विवरणअनुसार वडा नं. ७ र वडा नं. ९ मा गम्भीर कुपोषणको संख्या शून्य रहेको भए पनि मध्यम कुपोषणको अवस्था भने कायम रहेको छ। नगरका अधिकांश वडामा कुपोषणका समस्या देखिएकाले यसलाई गम्भीर सामाजिक तथा स्वास्थ्य चुनौतीका रूपमा लिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले  लुम्बिनी प्रदेशमा हाल १६.२ प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित रहेको बताउदै  गर्भावस्थादेखि नै आमाको पोषणमा ध्यान दिन सके कुपोषणको जोखिम उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भयो ।
यता सहजकर्ता शर्माले स्थानीय स्तरमा उत्पादन हुने कोदो, फापर, मकै, गहुँ, दाल, दूध, अण्डा, हरियो सागसब्जी र फलफूललाई दैनिक भोजनमा समावेश गर्नुपर्नेमा जोड दिइन्। पछिल्लो समय बजारमा उपलब्ध जंक फुड तथा प्रशोधित खाद्य पदार्थको अत्यधिक प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै स्थानीय खाद्यान्नको उत्पादन र उपभोग बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा नगरपालिकाभित्र कुपोषणका कारण उपचारमा रहेका १८७ जना बालबालिकामध्ये ३७ जनाको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार हुन नसकेको जानकारी पनि दिइएको थियो। यसले कुपोषण न्यूनीकरणका लागि उपचारसँगै परिवार तथा समुदायस्तरको व्यवहार परिवर्तन आवश्यक रहेको सहभागीहरूले औँल्याए।
कार्यशालामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कृषि तथा पोषण क्षेत्रका सरोकारवालाहरूले स्थानीय उत्पादनमा आधारित खाद्य प्रणालीलाई बलियो बनाउँदै कुपोषणविरुद्ध सामूहिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय सरकार, विकास साझेदार संस्था तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएर बालबालिकाको पोषण सुधारमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालका छ्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ