शिवराज ४ मा १ महिने ब्युटी पार्लर तालिम सम्पन्न
नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तु को शिवराज नगरपालिका वडा नम्बर ४ मा महिलाहरूलाई सीप, दक्षता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको १ महिने बेसिक ब्युटी पार्लर तालिम सम्पन्न भएको छ।

सीपमूलक तालिममार्फत महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ अग्रसर गराउने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले ब्युटी पार्लरसँग सम्बन्धित आधारभूत ज्ञान तथा व्यावहारिक सीप हासिल गरेको वडा अध्यक्ष नसिम अहमद खाले जानकारी दिनु भयो । तालिम अवधिभर हेयर कटिङ, मेकअप, थ्रेडिङ, फेसियल लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
खानले यो सीप आत्मनिर्भरताको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोडिन सहभागीहरूलाई आग्रह गर्नु भएको थियो । यस्ता तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम सम्पन्न भएसँगै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको जनाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि समुदायका महिलाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तथा आयआर्जनमूलक तालिम सञ्चालन गरिनेछ।














