पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन, पार्थिव शरीर मंगलबार कृष्णनगर ल्याइने
कपिलवस्तु,
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ता को उपचारका क्रममा भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको छ। उहाँको निधन हृदयघातका कारण भएको पारिवारिक स्रोतले जनाएको छ।
गुप्ता केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहँदै आएका थिए। थप उपचारका लागि उनलाई भारत लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार स्वर्गीय गुप्ताको पार्थिव शरीर असार २६ गते मंगलबार बिहान ७ बजे कपिलवस्तुको कृष्णनगरस्थित निवासमा ल्याइनेछ। श्रद्धाञ्जलीका लागि केही समय राखिने र त्यसपछि अन्तिम संस्कारका लागि भारतको अयोध्या लगिने कार्यक्रम रहेको जनाइएको छ।
उहाँको निधनसँगै कपिलवस्तु जिल्लासहित समग्र राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको वातावरण छाएको छ। विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित गुप्ता एमालेका सक्रिय नेता तथा जनतासँग नजिक रहेर काम गर्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँको निधनले कपिलवस्तुले एक अनुभवी, इमानदार र जनमुखी राजनीतिक व्यक्तित्व गुमाएको स्थानीयवासीहरूले बताएका छन्।














