सर्पदंशबारे जनचेतना फैलाउन शिवराज–३ मा कार्यक्रम
नवराज पौडेल , कपिलवस्तु ।
सर्पदंशबाट हुने जोखिम न्यूनीकरण तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिवराज नगरपालिका–३ मा सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।शिवराज नगरपालिका वडा नं. ३ को सहयोग तथा सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेको आयोजनामा वडा नं. ३ स्थित सुपादेउराली रिसोर्ट, खरेन्द्रपुरमा आयोजित कार्यक्रममा ३ सयभन्दा बढी स्थानीयवासीको सहभागिता रहेको थियो।
‘सर्पको टोकाइबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले सर्पदंशबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको बताए। ।
यस्ता कार्यक्रममार्फत समुदायमा सही जानकारी पुग्ने र जोखिम कम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले सर्पदंश ग्रामीण क्षेत्रको गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको उल्लेख गर्दै समयमै उपचार र सचेतनाले ज्यान जोगाउन सकिने बताए।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सर्पदंशबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी दिँदै जनस्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमलाई स्थानीय तहले निरन्तर सहयोग गर्ने बताए।

सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका प्रमुख नवीन भण्डारी र सर्प उद्धार अभियन्ता यमलाल भण्डारीले सर्पको पहिचान, विषालु तथा अविषालु सर्पबीचको भिन्नता, सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार, सर्प सम्बन्धी भ्रम र यथार्थ तथा सर्प उद्धारका विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा सामाजिक अभियन्ता अर्जुन भुसाल तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेलगायतले सर्पदंशबाट बच्न समुदायस्तरमै सचेतना आवश्यक रहेको बताएका थिए।
जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रमले सर्पदंश सम्बन्धी सही जानकारी प्रवाह गर्न र समुदायमा सचेतना फैलाउन सहयोग पुगेको आयोजकले जनाएको छ।














