चर्को गर्मीमा शिवराज युथ क्लबको मानव सेवा, दिनभर निःशुल्क खानेपानी वितरण ।
तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि सर्वसाधारणलाई राहत प्रदान गर्ने उद्देश्यले शिवराज युथ क्लबले चन्द्रौटामा निःशुल्क एक दिने खानेपानी तथा भेली वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले बुधबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चन्द्रौटा बजार क्षेत्रमा यात्रु, दैनिक ज्यालादारी मजदुर, सवारी चालक तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै खानेपानी वितरण गरेको हो। क्लबका अनुसार कार्यक्रममा ४० जार शुद्ध खानेपानी र भेली वितरण गरिएको थियो।
चर्को घाम र बढ्दो तापक्रमका कारण सडकमा आवतजावत गर्ने नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट सयौं नागरिक लाभान्वित भएका छन्। दिनभरि स्वयंसेवकका रूपमा खटिएका क्लबका युवाहरूले यात्रु तथा सर्वसाधारणलाई पानी र भेली उपलब्ध गराएका थिए।
शिवराज युथ क्लबका अध्यक्ष विजय भुसालले समुदायको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले मानवीय सेवाका यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
खानेपानी वितरण कार्यक्रममा सहभागी स्थानीयवासीहरूले अत्यधिक गर्मीका बेला गरिएको यस्तो मानवीय कार्य प्रशंसनीय रहेको बताएका छन्। उनीहरूले युवाहरूको सक्रियता र सामाजिक सेवाप्रतिको समर्पणले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।
पछिल्ला वर्षहरूमा सामाजिक सेवा, जनचेतना, रक्तदान, विपद् सहयोग तथा समुदाय केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ














