राष्ट्रिय मावि चन्द्रौटामा विपद् व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न ।

राष्ट्रिय मावि चन्द्रौटामा विपद् व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

चन्द्रौटा, कपिलवस्तु ।
विद्यालयस्तरमै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा अभिमुखीकरण तालिम सम्पन्न भएको छ।
राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाको आयोजनामा तथा शिवराज नगरपालिका–५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा विद्यालयमा अध्ययनरत कक्षा ९ का करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्रप्रसाद बेल्बासेले विपद्का घटनाहरू कुनै पनि समयमा हुन सक्ने भएकाले विद्यार्थीहरूलाई समयमै आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विपद्का बेला अपनाउनुपर्ने सावधानी, उद्धार तथा सुरक्षाका उपायबारे जानकारी हासिल गरी व्यवहारमा समेत लागू गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यालय तहबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान प्रदान गर्न आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई सचेत र जिम्मेवार नागरिक बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

विशेष अतिथिका रूपमा सहभागी शिवराज नगरपालिकाका प्रशासन शाखाका डिल्लीराज भट्टराईले प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विपद् व्यवस्थापनमा विद्यार्थीहरूको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक विष्णु भण्डारी र नवीन गरैले गर्नुभएको थियो। तालिमका क्रममा विद्यार्थीहरूलाई विपद्का प्रकार, विपद् आउनुअघि अपनाउनुपर्ने सावधानी, विपद्को समयमा सुरक्षित रहने उपाय, प्राथमिक उद्धार तथा जोखिम न्यूनीकरणका विभिन्न पक्षबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विपद् प्रतिको सचेतना बढाउनुका साथै आपत्कालीन अवस्थामा सही निर्णय लिन सक्ने क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

शिक्षक गोपाल भाटको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रमले विद्यालयस्तरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ