शैक्षिक सामग्री अभावले पढाइ नरोकिने : शिवराज–३ द्वारा ६५ अभिभावकविहीन बालबालिकालाई सहयोग

शैक्षिक सामग्री अभावले पढाइ नरोकिने : शिवराज–३ द्वारा ६५ अभिभावकविहीन बालबालिकालाई सहयोग
नवराज पौडेल कपिलवस्तु ,
शिवराज नगरपालिका वडा नं. ३ ले अभिभावकविहीन ६५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। वडाको वार्षिक कार्यक्रमअन्तर्गत शुक्रबार एक कार्यक्रम को आयोजना गरि करिब एक लाख रुपैयाँ बराबरका कापी, कलम, विद्यालय पोसाक तथा झोला वितरण गरिएको हो।
वडाभित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकालाई लक्षित गरी सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।
उहाँका अनुसार शिवराज नगरपालिकाले निःशुल्क शिक्षा लागू गरिरहेको भए पनि आवश्यक शैक्षिक सामग्री अभाव हुँदा कतिपय बालबालिकाको अध्ययन प्रभावित हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै अभिभावकविहीन बालबालिकाको अभिभावकत्व निर्वाह गर्ने भावनासहित सहयोग गरिएको उनले बताउनुभयो ।
“विद्यालयमा भर्ना हुनु मात्र पर्याप्त हुँदैन, अध्ययनका लागि आवश्यक सामग्री पनि हुनुपर्छ, “शैक्षिक सामग्रीको अभावले कुनै पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं उहाले थप्नु भयो ।
वडाका अनुसार सामग्री वितरणबाट बालबालिकाको शिक्षण–सिकाइमा सहजता पुग्नुका साथै विद्यालयप्रति उनीहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ। स्थानीयले पनि वडाको पहललाई बालमैत्री तथा सामाजिक उत्तरदायित्व बहन गर्ने सकारात्मक कदमका रूपमा लिएका छन्।
वडा कार्यालयले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य तथा बाल संरक्षणका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ