स्पा–डान्सबार रोक्न शिवराज नगरपालिकाको अभियान, अनुगमन गर्दै ब्यानर हटाइयो 

स्पा–डान्सबार रोक्न शिवराज नगरपालिकाको अभियान, अनुगमन गर्दै ब्यानर हटाइयो ।

नवराज पौडेल कपिलवस्तु ,,
शिवराज नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्पा तथा लजमा सोमबार अनुगमन गरी स्पासम्बन्धी ब्यानर तथा प्रचार सामग्री हटाएको छ। नगरपालिकाको टोलीले सञ्चालकहरूलाई व्यवसायको प्रकृति परिवर्तन गर्न र प्रचलित कानुन तथा नगरपालिकाको मापदण्डअनुसार मात्रै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
नगर क्षेत्रमा सञ्चालित केही स्पा तथा डान्सबारका गतिविधिले सामाजिक विकृति बढाएको, शान्ति सुरक्षामा असर परेको तथा सामाजिक मर्यादा खल्बलिएको भन्दै स्थानीयबाट पटक–पटक गुनासो आएको नगरपालिकाले जनाएको छ।
नगर कार्यपालिकाको भदौ २२ गतेको बैठकले नगर क्षेत्रमा कानुनविपरीत सञ्चालित स्पा तथा डान्सबार नियन्त्रण गर्ने निर्णय गरेको थियो। त्यसैको कार्यान्वयनका क्रममा सोमबार नगरपालिकाको टोली सम्बन्धित व्यवसायमा पुगेको हो।
अनुगमनका क्रममा स्पा सञ्चालन वा त्यससम्बन्धी प्रचार गरिएको भेटिएपछि ब्यानर हटाइएको र व्यवसायीलाई तत्कालै व्यवसायको प्रकृति परिवर्तन गर्न भनिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार होटल, रेष्टुरेन्ट तथा लज सञ्चालन गर्न पाइने भए पनि तिनकै आडमा छुट्टै स्पा, डान्सबार वा सार्वजनिक शान्ति, सामाजिक मर्यादा र सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधि सञ्चालन गर्न पाइने छैन।
नगर प्रमुख अजय थापाले व्यवसाय सञ्चालनको अधिकार भए पनि कानुन र सामाजिक मर्यादाको सीमा सबैले पालना गर्नुपर्ने बताउनु भयो ।
हामी व्यवसाय बन्द गराउन मात्रै खोजिरहेका छैनौं। कानुनले दिएको सीमाभित्र व्यवसाय सञ्चालन गर्नुस् भन्ने हाम्रो स्पष्ट भनाइ हो। होटल, लज वा रेष्टुरेन्टको नाममा स्पा, डान्सबार वा सामाजिक विकृति बढाउने गतिविधि गर्न पाइँदैन,” थापाले भन्नू भयो “नगरवासीको गुनासो सम्बोधन गर्दै शान्ति, सुरक्षा र सामाजिक मर्यादा कायम गर्न अनुगमनलाई निरन्तरता दिन्छौं।”
नगरपालिकाले यसअघि अवैध रूपमा सञ्चालनमा रहेका स्पा तथा डान्सबार सात दिनभित्र बन्द गर्न सूचना जारी गरेको थियो। तोकिएको अवधिपछि पनि नगरपालिकाको निर्णयविपरीत त्यस्ता गतिविधि सञ्चालन गरेको पाइए सम्बन्धित निकायसँग समन्वय गरी कानुनी कारबाही गरिने र शिल गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले होटल, लज तथा रेष्टुरेन्ट सञ्चालकलाई आफ्नो व्यवसायको प्रकृति र गतिविधि कानुनी मापदण्डअनुसार बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ