शिवराज नगरपालिका–३ मा गुणस्तरहीन सडक निर्माण: भर्खरै बनेको पिसिसी सडक डोजर लगाई भत्काइयो
नवराज पौडेल कपिलवस्तु ,,
शिवराज, कपिलवस्तु – शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुर स्वर्गद्वारी आश्रमको पूर्वतर्फ निर्माण गरिएको १२० मिटर लम्बाइको पिसिसी (Plain Cement Concrete) सडक गुणस्तरहीन भेटिएपछि डोजर लगाएर भत्काइएको छ। निर्माण सम्पन्न भएको केही दिनमै गरिएको ल्याब परीक्षणमा सिमेन्ट र बालुवाको अनुपात तथा गुणस्तर निर्माण मापदण्ड अनुरूप नभएको प्रमाणित भएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई सडक पुनः निर्माण गर्न निर्देशन दिएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।
वडा नम्बर ३ का प्राविधिक वसन्त पन्थिका अनुसार, ल्याब परीक्षण रिपोर्टमा सम्पूर्ण १२० मिटर सडकमध्ये केवल २५ मिटर मात्र मापदण्ड अनुरूप निर्माण गरिएको पुष्टि भएको हो। बाँकी ९५ मिटर सडकको सतह कमजोर पाइएपछि नगरपालिकाले तुरुन्त हस्तक्षेप गर्दै निर्माण भत्काएर पुनः काम सुरु गर्न आदेश दिएको छ।
“प्राविधिक परीक्षणमार्फत सडकको वास्तविक अवस्था थाहा पायौँ। गुणस्तरमा सम्झौता गर्नु नगरवासीप्रति अन्याय हो भन्ने मान्यताका साथ तुरुन्त सुधारको प्रकृया अघि बढाएका हौँ,” प्राविधिक पन्थिले बताउनु भयो ।
नगरपालिकाले हाल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई आगामी साताभित्र पुनः मापदण्डअनुसार काम सुरु गर्न निर्देशन दिएको छ। यसअघि केही स्थानमा निर्माण पुरा भइसके पनि ढलानमा चिरा पर्ने, सतह कमजोर हुने, र पानी जम्ने समस्या देखिएको थियो।
स्थानीयवासीहरूको गुनासोपछि नगरपालिकाले निगरानी बढाउँदै ल्याब परीक्षण गराएको थियो। स्वर्गद्वारी आश्रम क्षेत्र पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण भएकाले त्यहाँको पूर्वाधार विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको छ। तर पछिल्ला काममा गुणस्तरप्रति लापरवाही देखिएको भन्दै स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीयवासी केशर महतरा क्षेत्रीका अनुसार काम सकिएको दुई हप्तामै सडकमा चिरा देखिन थाल्यो। हिँड्नै गाह्रो भयो। यस्तो लापरवाही नगरपालिकाले तुरुन्त नियन्त्रणमा लिनुपर्छ भन्ने हाम्रो माग थियो।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका बाबुराम पौडेलका अनुसार अबदेखि प्रत्येक विकास निर्माण कार्यको क्रममा गुणस्तर सुनिश्चित गर्न चरणबद्ध परीक्षण अनिवार्य गरिनेछ। नगरपालिका भित्रका अन्य विकास योजनाहरूमा समेत निगरानी कडा पारिने योजना रहेको बताइएको छ।
यस घटनाले निर्माण कार्यको पारदर्शिता र प्राविधिक परीक्षणको महत्त्वलाई पुनः पुष्टि गरिदिएको छ। नगरवासीहरूले भने आगामी दिनमा यस्ता काममा अझ गम्भीर ध्यान दिन नगरपालिकालाई आग्रह गरेका छन्।














