“शिक्षकको मेहनतकै कारण राम्रो नतिजा सम्भव” : नगर प्रमुख अजय थापा
शिवराज नगरपालिकाले कक्षा १० (एसईई) र कक्षा १२ को सार्वजनिक परीक्षाको नतिजालाई लिएर समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेपाल आदर्श माध्यमिक विद्यालयको सभाहलमा नगरका विषयगत शिक्षकहरुसँग विशेष छलफल गरी उत्कृष्ट नतिजा दिने शिक्षकहरुको अनुभव र कमजोर नतिजा ल्याउने पक्षहरुको कारणबारे गहिरो विश्लेषण गरिएको हो।
कार्यक्रममा नगर प्रमुख अजय थापाले निशुल्क शिक्षाको प्रभावकारिता र शिक्षकको भूमिकाबारे प्रकाश पार्दै शिक्षा क्षेत्रमा शिवराज नगरपालिकाले ठूलो लगानी गरेको उल्लेख गर्नुभयो । “शिक्षकको लगनशीलता र मेहनतकै कारण धेरै विषयमा राम्रो नतिजा आएको छ,” प्रमुख थापाले भन्नुभयो, “अब आगामी दिनमा अझ बढी समर्पण र मेहनतका साथ अघि बढ्न जरुरी छ।” उहाँले शिक्षकसँग सहकार्य गर्दै नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा जनचेतना माध्यमिक विद्यालयका प्रध्यानाध्पक देवानन्द ठाकुरले आफ्नो विद्यालयले अंग्रेजी विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको जनाउँदै विद्यार्थीको लगनशीलता र शिक्षकको सिकाइ पद्धति यसको प्रमुख कारण रहेको बताउनुभयो । “केवल शिक्षकको प्रयासले मात्र पर्याप्त हुँदैन, विद्यार्थीको मेहनत पनि उत्तिकै जरुरी छ,” उहाँले भन्नुभयो।त्यस्तै, गणित विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल जय प्रकाश चौधरीले अतिरिक्त कक्षा, नियमित पठनपाठन, र क्षमताका आधारमा वर्गीकरण जस्ता विधिहरु अपनाएर उत्कृष्ट नतिजा हासिल गरिएको जानकारी दिनुभयो । “विद्यार्थीको लेखन शैली र अभ्यासको गुणस्तरले पनि नतिजा सुधारमा महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भन्नुभयो ।उता कमजोर नतिजा ल्याउने विषयका शिक्षकहरुले विद्यार्थीको नियमित कक्षामा उपस्थिति नहुनु प्रमुख समस्या भएको बताएका छन् । उनीहरुले अभिभावकको समेत ध्यान आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा नतिजा सुधार गर्ने प्रतिवद्धता जनाए । शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण विकले समिक्षाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै अब शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो । साथै, समिक्षा कार्यक्रममा विषयगत शिक्षक समिति गठन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।














