दलाई लामाको काँधमा बन्दुक : खम्पा विद्रोहदेखि हालको सन्दर्भसम्म
लेखक केर सिंह अदै
भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनले देशभर चर्चा पायो । आन्दोलनमा तिब्बती मूलका केही व्यक्तिहरू पेस्तोल, खुकुरी, भाला बोकेर अराजक गतिविधिमा संलग्न भएको घटनाले थप प्रश्न उब्जायो । उनीहरूले कालो टीसर्टमा “TOB – Tibetan Original Blood” लेखिएको लगाएका थिए र “हामीलाई हाम्रो देश चाहियो” भन्ने नारासहित सडकमा उत्रिएका थिए ।
यो घटनाको गहिरो पक्ष बुझ्नका लागि दलाई लामाको पृष्ठभूमि र तिब्बती राजनीति बुझ्न जरुरी छ ।
तिब्बत, चीन र दलाई लामाको सम्बन्ध
दलाई लामा भन्ने चीनको ऐतिहासिक धार्मिक पद हो । पञ्चेन लामाको समेत त्यस्तै धार्मिक परम्परा छ, जसअनुसार पञ्चेन लामाले नै दलाई लामालाई औपचारिक रूपमा नियुक्त गर्ने चलन छ ।
सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सफल हुँदा तिब्बत स्वतन्त्र थियो । त्यसपछि सन् १९५१ मा दलाई लामा र पञ्चेन लामाले चीनको केन्द्रीय सरकारसँग सम्झौता गरे । सम्झौताअनुसार दलाई लामा तिब्बतका स्थानीय सरकार प्रमुख बने भने पञ्चेन लामा चीनको राष्ट्रिय जनकांग्रेसमा सदस्य भए ।
तर सन् १९५९ तिर परिस्थिति फेरियो । पश्चिमी शक्तिहरूको सहयोगमा दलाई लामाले चीनविरुद्ध सशस्त्र विद्रोह गरे । चीनले त्यसलाई कठोर रूपमा दबायो, र त्यसपछि दलाई लामा भारतमा शरण लिए । त्यही बेलादेखि उनले “स्वतन्त्र तिब्बत” का लागि भारतमै बसेर अभियान चलाइरहेका छन् ।
नेपालमा तिब्बती छापामार र खम्पा विद्रोह
दलाई लामाको पलायनपछि तिब्बती शरणार्थीहरू नेपाल, भारत र भुटानतिर पस्न थाले । नेपालमा बसोबास गरेका तिब्बतीहरूले चीनविरुद्ध छापामार युद्ध सञ्चालन गरे । वाङ्दीको नेतृत्वमा बनेको समूहलाई अमेरिकी समर्थन र हतियारसमेत प्राप्त भएको बताइन्छ ।
यिनै तिब्बती छापामारहरूले नेपालमा समेत अराजक गतिविधि गर्न थालेपछि शाही सेनाले वि.सं. २०२८ सालमा ‘वाङ्दी अपरेसन’ सञ्चालन गर्यो । सो कारबाहीमा वाङ्दी मारिए, केही पक्राउ परे र बाँकी तिब्बतीहरू भारततर्फ भागे । त्यसपछि तिब्बती शरणार्थीहरूलाई नेपाल–चीन सीमाबाट हटाएर काठमाडौं र पोखरातिर सारियो । यही घटनालाई इतिहासमा खम्पा विद्रोह भनिन्छ ।
अमेरिकी–भारतीय स्वार्थ र दलाई लामाको प्रयोग
सन् १९५९ पछि अमेरिकाले चीनलाई घेर्ने रणनीतिअन्तर्गत “फ्री तिब्बत” आन्दोलनलाई सहयोग गर्दै आएको छ । अमेरिकी CIA, Barbara Foundation, र We Are Nepal जस्ता संस्थाहरूले नेपालभित्र पनि तिब्बती मुद्दालाई जिउँदो राख्ने प्रयास गरिरहेका छन् ।
भारतले पनि दलाई लामालाई दुई हिसाबले प्रयोग गरेको देखिन्छ — पहिलो, चीनविरुद्ध राजनीतिक दबाबका रूपमा; दोस्रो, बुद्ध भारतमा जन्मिएका हुन् भन्ने प्रचार गरेर नेपाल र चीन दुबैको धार्मिक प्रभाव घटाउने प्रयत्नका रूपमा ।
नेपाल, MCC र धर्म–सांस्कृतिक प्रभाव
विश्लेषकहरूका अनुसार अमेरिकाको MCC परियोजना पनि चीनलाई घेराबन्दी गर्ने रणनीतिक श्रृंखलाको एक हिस्सा हो । अमेरिकाले नेपालमा क्रिश्चियन मिसनरीहरू मार्फत आफ्नो सांस्कृतिक प्रभाव विस्तार गरिरहेको छ । अहिलेसम्म नेपालमा करिब १८०० वटा चर्च दर्ता भएका छन् ।
त्यसैगरी बौद्ध गुम्बा निर्माणमा पनि अमेरिकी लगानी भएको तथ्य सार्वजनिक हुँदै आएको छ, जसले बौद्ध धर्मका नाममा राजनीतिक स्वार्थ लुकाइएको संकेत गर्छ ।
नेपालको सुरक्षा र भविष्यको चुनौती
नेपालको भू–राजनीतिक अवस्थाले भारत र चीन दुबैको प्रतिस्पर्धा यहाँ सक्रिय बनाएको छ । चीनविरुद्ध गतिविधि नेपालबाट सञ्चालन हुन थालेपछि चीनले सीमाक्षेत्रमा सैनिक गतिविधि बढाएको छ । लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा हालै चीनले नयाँ क्याम्प स्थापना गरेको समाचार सार्वजनिक भएका छन् ।
यदि नेपालले यस्ता संवेदनशील विषयमा तटस्थ र संतुलित नीति अपनाउन सकेन भने, भारत र चीनबीचको तनावमा नेपाल नै युद्धभूमि बन्न सक्छ ।
त्यसैले, नेपालमा कुनै पनि विदेशी स्वार्थका लागि आफ्नो भूमि प्रयोग हुन नदिनु आजको राष्ट्रिय आवश्यकता हो ।
निष्कर्ष
दलाई लामा धार्मिक व्यक्ति मात्र होइनन्, अब उनी शक्तिशाली मुलुकहरूको “कूटनीतिक हतियार” बनेका छन् । भारत, अमेरिका र पश्चिमी राष्ट्रहरूले उनको काँधमा बन्दुक राखेर चीनविरुद्ध निशाना साधिरहेका छन् ।
नेपालका लागि मुख्य चुनौती भनेको — आफ्नो सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान जोगाउँदै परराष्ट्र नीतिमा स्वतन्त्र निर्णय लिन सक्ने क्षमता प्रदर्शन गर्नु हो ।














