कपिलवस्तुको शिवराज नगरपालिकाका एक पूर्व शिक्षा शाखा प्रमुख १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको विजयनगर गाउपालिकाको पुर्व शिक्षा शाखा प्रमुख समेत रहेका शिवराज सुबेदीलाई प्रहरीले यौन दुव्र्यवहारमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
घरमा श्रीमती र परिवारका अन्य सदस्यहरू नभएको समयमा उनले घरेलु कामदारका रूपमा राखेकी बालिकामाथि बारम्बार दुर्व्यवहार गरेको पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।
पीडित बालिका प्युठान निवासीहुन्। उनलाई शिक्षकले “पढाइ र बसाइको व्यवस्था गरिदिन्छु” भन्ने प्रलोभन देखाएर करिब १३ महिनादेखि आफ्नै घरमा राख्दै आएका थिए।
शिवराज सुबेदीले विभिन्न विद्यालयमा प्रधानाध्यापक हुँदै पालिकाको शिक्षा शाखा सम्हालेका थिए । उनले दुई वर्षअघि सेवा अवकाश लिएका थिए । उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटना सम्बन्धी थप विवरण संकलन भइरहेको छ र बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ।
प्रहरी स्रोतका अनुसार, प्रमाण संकलनपछि मुलुकी अपराध संहिताअनुसार कानुनी कारबाही अघि बढाइनेछ।














