कपिलवस्तु–शिवराजमा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सम्पन्न
कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालन भएको ३४औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा सम्पन्न भएको छ। विभिन्न वडा तथा समुदायमा पुगेर सचेतना कार्यक्रम, अन्तरक्रिया, अभियानात्मक गतिविधि सञ्चालन गर्दै अभियान सफलतापूर्वक टुंगिएको हो।
समापन कार्यक्रममा नगर प्रमुख अजय थापाले अभियान केवल १६ दिनमै सीमित नभई वर्षभर निरन्तर रूपमा लैंगिक हिंसा रोकथाम र महिला अधिकार संरक्षणमा सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो। उहाँका अनुसार महिलामाथि हुने विभेद, दुर्व्यवहार र हिंसा अन्त्य गर्न स्थानीय तहको पहलसँगै समुदायको सहभागिता अनिवार्य छ।
उपप्रमुख शिवकुमारी थारूले महिलाको हक–अधिकार सुरक्षाका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको र प्रत्येक वडामा प्रभावकारी कार्यक्रम विस्तार गर्दै लैंगिक समानता कायम गर्नुपर्ने धारणा राख्नुभयो।
समापन कार्यक्रममा वडा अध्यक्ष नेत्र बेल्वासे, रामबहादुर चौधरी लगायतका व्यक्तिहरूले महिला सशक्तीकरण र हिंसा रोकथामका लागि सबै क्षेत्रमा संयुक्त प्रयास आवश्यक रहेको औंल्याए।
त्यसैगरी महिला तथा बालबालिका शाखा प्रमुख जिवा केसीले १६ दिने अवधिभर वडा–वडामा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम, छलफल, अन्तर्क्रिया तथा स्थानीय महिलाका समस्यामा केन्द्रित गतिविधि सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रमले स्थानीय क्षेत्रमा लैंगिक हिंसाबारे चेतना बढाउन र महिलाको हक–अधिकार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको नगरपालिकाले जनाएको छ।















