आचारसंहिता मिच्दै कपिलवस्तु–३ मा रास्वपा उम्मेदवारको घरदैलो: आयोगको मौनतामाथि प्रश्न

आचारसंहिता मिच्दै कपिलवस्तु–३ मा रास्वपा उम्मेदवारको घरदैलो: आयोगको मौनतामाथि प्रश्न

नवराज पौडेल कपिलवस्तु ,,

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता लागू गरेको भए तापनि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा यसको प्रत्यक्ष उल्लङ्घन भएको पाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार प्रकाश रजौरिया र समानुपातिक उम्मेदवार रासिद मिर्जाको नेतृत्वमा रहेको टोलीले आचारसंहिताको बेवास्ता गर्दै खुलेआम प्रचारप्रसार र घरदैलो गरिरहेको देखिएको हो।
​निर्वाचन आचारसंहिताले प्रचार–प्रसारको समय, विधि र सीमाबारे स्पष्ट कानुनी व्यवस्था गरेको भए तापनि रास्वपाका उम्मेदवारहरूले ती प्रावधानहरूलाई पूर्णतः चुनौती दिँदै मतदाता फकाउन घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। निर्वाचनको मर्यादा र कानुनी सीमालाई बेवास्ता गर्दै गरिएका यस्ता गतिविधिले चुनावी प्रतिस्पर्धाको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ। आयोगले बारम्बार सबै राजनीतिक दल र उम्मेदवारहरूलाई कानुनको दायराभित्र रहन आग्रह गरे पनि व्यवहारमा भने केही उम्मेदवारहरूले आफूलाई कानुनभन्दा माथि ठानेको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भइरहेको छ।
​लोकतान्त्रिक प्रणालीमा निर्वाचन केवल शक्ति प्रदर्शनको माध्यम मात्र नभई विधि र पद्धतिको कडी पनि हो। यदि नियम र कानुन सबैका लागि समान हुन् भने आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीमाथि तत्काल कडा कारबाही हुनुपर्ने माग उठेको छ। आचारसंहितालाई कागजमा मात्र सीमित राख्दा समग्र लोकतान्त्रिक प्रक्रिया र निर्वाचन आयोगको विश्वसनीयतामाथि नै आघात पुग्ने देखिन्छ। यस्तो अवस्थामा आयोगले मौनता साधेर बस्ने कि दोषीमाथि कारबाही गरी विधिको शासन स्थापित गर्ने भन्नेमा आम नागरिकको चासो बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर