अनुभव, पहुँच र विकासको निरन्तरतासहित कपिलवस्तु–२ मा सुरेन्द्रराज आचार्य बलियो दाबेदार

अनुभव, पहुँच र विकासको निरन्तरतासहित कपिलवस्तु–२ मा सुरेन्द्रराज आचार्य बलियो दाबेदार
नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ। २०४८सालदेखि२०७९ सम्मको राजनीतिक यात्रामा यो क्षेत्रले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धालाई बारम्बार देखेको छ। दीपकुमार उपाध्याय दुईपटक, बृजेश कुमार गुप्ता चारपटक र सुरेन्द्रराज आचार्य एकपटक सांसद बनेको इतिहासले यहाँको मतपरिणाम सधैं चासोको विषय रहने गरेको छ।
यसपटक पुनः नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य चुनावी मैदानमा छन्। विगतमा प्रतिनिधिसभा सदस्य रहँदा उनले क्षेत्रीय सडक विस्तार, ग्रामीण खानेपानी आयोजना, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति र सिंचाइ आयोजनामा पहल गरेको कांग्रेसको दाबी छ। संघीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गराउन सफल भएको तथ्यलाई आचार्य पक्षले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको छ।
प्रदेश सभा २ (क) र २ (ख) मा एमाले र कांग्रेसबीच पालैपालो नेतृत्व आएको, स्थानीय तहमा कपिलवस्तु नगरपालिका, बुद्धभूमि, महाराजगंज र यशोधरा गाउँपालिकामा कांग्रेस नेतृत्वका कार्यकालमा पूर्वाधार र सेवा विस्तार भएको उदाहरण देखाउँदै कांग्रेसले “निरन्तरता नै स्थायित्वको आधार” भन्ने सन्देश दिन खोजेको छ।
आचार्यले यसपटक विकासलाई मात्र नारा नभई कार्ययोजना का रूपमा अघि सारेका छन्। कृषि आधुनिकीकरण, सीमावर्ती क्षेत्रको व्यापार व्यवस्थापन, युवालाई स्वदेशमै रोजगारी, औद्योगिक क्षेत्रको सम्भावना उपयोग, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार उनका प्राथमिकता सूचीमा छन्। विशेषगरी अधुरा सडक आयोजना सम्पन्न गर्ने, सिंचाइ सुविधा विस्तार गर्ने र साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता उनले सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका छन्।
प्रतिस्पर्धामा एमालेका दीर्घनारायण पाण्डे, नेपाल कम्युनिस्ट पार्टीका बृजेश कुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम सिंह थापा लगायत २८ उम्मेदवार छन्। तर कांग्रेस वृत्तमा भने आचार्यको संगठनात्मक पकड, लामो राजनीतिक अनुभव र केन्द्रसम्मको पहुँच निर्णायक बन्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय मतदाताहरू विकास कसको कार्यकालमा कति भयो र प्रतिबद्धता अनुसार काम भयो कि भएन भन्ने मूल्याङ्कनमा छन्। तीन साता बाँकी रहेको चुनावमा अन्तिम निर्णय मतदाताको हातमा नै छ।
यद्यपि कांग्रेस समर्थकहरूले अनुभव, इमानदारिता र विकासको निरन्तरताका लागि सुरेन्द्रराज आचार्यको जित पक्का हुने बताएका छ्न ।  यसपटकको प्रतिस्पर्धा कडा भए पनि आचार्यलाई बलियो र स्थिर विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ