होल्डिङ्ग सेन्टरदेखि छात्रवृत्तिसम्म : शाहले सार्वजनिक गरे आफ्ना कामको सूची ।
अभिषेक प्रताप शाहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि पनि निरन्तर जनताका बीचमा रहेर विभिन्न विकास तथा सामाजिक योजनामा पहल गर्दै आएको बताएका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले आफ्नो कार्यकाल र त्यसपछि गरेका कामहरूको विवरण सार्वजनिक गरेका हुन्।
शाहका अनुसार आफ्नो क्षेत्रका दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले होल्डिङ्ग सेन्टर निर्माणका लागि व्यक्तिगत जग्गासमेत हस्तान्तरण गरिएको छ। स्थानीयस्तरमा आवश्यक पूर्वाधार अभावलाई ध्यानमा राख्दै उक्त पहल गरिएको उनको भनाइ छ।
त्यस्तै, क्षेत्रकै प्रमुख सार्वजनिक स्थल महेन्द्र पार्कको जीर्णोद्धारका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायसँग समन्वय गरी योजना अघि बढाइएको र हाल निर्माण कार्य जारी रहेको उनले जानकारी दिए। पार्कको पुनर्निर्माणले पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए।
शिक्षा क्षेत्रमा पनि उल्लेखनीय पहल गरिएको दाबी गर्दै शाहले सयौं बालबालिकालाई भारतीय दूतावाससँगको समन्वयमा छात्रवृत्ति उपलब्ध गराइएको बताएका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई पढाइ निरन्तरता दिन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
सामाजिक समावेशीकरणका कार्यक्रमअन्तर्गत बहादुरगंज क्षेत्रमा सयौं दलित तथा उपेक्षित परिवारका लागि गरिब आवास निर्माण गराइएको शाहले उल्लेख गरे। आवासविहीन तथा विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
यी सबै योजनालाई ‘विशेष कार्यक्रम’ का रूपमा अघि बढाइएको जनाउँदै शाहले निर्वाचनमा पराजित भए पनि जनताबाट टाढा नभई निरन्तर गाउँ–गाउँमा पुगेर समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिँदै आएको दाबी गरे।
“पदमा नरहे पनि जनताको सेवा रोकिन्न,” उनले भने, “विकासका ठूला परियोजनासँगै साना–साना योजनाहरू पनि निरन्तर अघि बढाइरहेका छौं, विभिन्न निकायमा पहल जारी छ।”
शाहले आगामी दिनमा अधुरा योजना पूरा गर्ने, सामाजिक न्याय र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।














