शिक्षा सुधारलाई प्राथमिकता दिँदै शिवराज–५ मा अभिषेक प्रताब शाहको व्यापक घरदैलो अभियान ।।
नवराज पौडेल कपिलवस्तु ,,
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ ले आज शिवराज नगरपालिका वडा नम्बर ५ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक प्रताब शाह नेतृत्वको टोलीले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम तथा विकासका प्राथमिकताबारे जानकारी गराएको हो।।
घरदैलोका क्रममा स्थानीय मतदाताले विशेषगरी शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या उठाएका थिए। विद्यालयमा पर्याप्त पूर्वाधारको अभाव, शिक्षक दरबन्दी अपुग हुनु तथा गुणस्तरीय शिक्षामा पहुँच अझै कमजोर रहेको गुनासो अभिभावक तथा सरोकारवालाले उम्मेदवारसमक्ष राखे। ग्रामीण क्षेत्रका विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइको कमीले विद्यार्थीको सिकाइ उपलब्धि प्रभावित भएको उनीहरूको भनाइ थियो।
उक्त गुनासोप्रति प्रतिक्रिया दिँदै उम्मेदवार शाहले शिक्षा क्षेत्रको सुधार आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले विद्यालय पूर्वाधार सुदृढीकरण, आवश्यक शिक्षक व्यवस्थापन र गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको विस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन शैक्षिक सुधार योजना अघि बढाइने उहाँको भनाइ थियो।
शिक्षाको क्षेत्रमा शाह पहिले देखि नै अग्रसर रहँदै आएको उल्लेख गर्दै उहाँले भारतिय दूतावासको सहयोगमा शिवपुरस्थित नेपाल आदर्श माध्यमिक विद्यालय र लक्ष्मणपुरस्थित जनचेतना माध्यमिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरिसकेको स्मरण गराउनुभयो। यसले दुर्गम बस्तीका विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजता मिलेको स्थानीयले बताएका छन्।
शिक्षामा समान पहुँच, गुणस्तरीय सिकाइ वातावरण र विद्यार्थीको समग्र क्षमता विकासका लागि ठोस कार्यक्रम ल्याइने बताउँदै शाहले क्षेत्रको दीगो विकासको आधार नै शिक्षा भएको धारणा व्यक्त गर्नुभयो।














