शिवराज ५ मा स्वास्थ्य जीवनशैली अभिमुखीकरण: ७० नागरिक सहभागी

चन्द्रौटामा स्वास्थ्य जीवनशैली अभिमुखीकरण: ७० नागरिक सहभागी
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा समुदाय स्तरमा स्वास्थ्य जीवनशैलीसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नागरिक आरोग्य सेवा केन्द्र, शिवराज–५ को आयोजनामा तथा नगरपालिकाका उपमेयर शिवकुमार थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा वडाका करिब ७० जना नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउने विभिन्न उपायबारे व्यवहारिक तथा उपयोगी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
अभिमुखीकरण कार्यक्रममा आयुर्वेदिक चिकित्सक डा. सुवासचन्द्र अधिकारी, वरिष्ठ कविराज निरीक्षक तेजबहादुर सोमै तथा नागरिक आरोग्य सेवा केन्द्रका प्रबन्धक सुरेन्द्रप्रसाद पाण्डेले प्रशिक्षण दिनुभएको थियो। उहाँहरूले सन्तुलित आहारको महत्त्व, दैनिक योग तथा व्यायाम, व्यक्तिगत र सामुदायिक सरसफाइ, नियमित दिनचर्या तथा मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगबाट बच्ने उपायबारे विस्तृत रूपमा सहजीकरण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिवकुमार थारुले पछिल्लो समय बढ्दै गएको अस्वस्थ जीवनशैलीका कारण विभिन्न रोगहरूको जोखिम बढ्दै गएको उल्लेख गर्दै स्वस्थ बानी व्यवहार अपनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमहरूले नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, वडाध्यक्ष नेत्र बेलबासेले समुदायको समग्र स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहबाट स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अभियानलाई अझ सशक्त बनाइने समेत जानकारी दिनुभयो।
समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य जागरण फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर