उपचारदेखि उद्धारसम्म शिवराज सक्रिय सर्पदंश नियन्त्रणमा नयाँ अभ्यास ।।
नवराज पौडेल कपिलवस्तु
वर्षायामसँगै तराईका बस्तीमा सर्पदंशको जोखिम बढ्नु नौलो होइन। तर शिवराज नगरपालिकाले यही जोखिमलाई व्यवस्थापन गर्ने शैलीलाई नयाँ ढंगले परिभाषित गरेको छ । जहाँ उपचार, उद्धार र संरक्षण एउटै चक्रमा जोडिएका छन्।
नगरपालिकाले सर्पले डसेका बिरामीका लागि निशुल्क औषधि उपचार र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रसँगको सहकार्यमा सुरु गरिएको यो सेवा जिल्लामै पहिलो अभ्यासका रूपमा स्थापित भएको छ। दुर्गम गाउँबाट बिरामीलाई छिटो स्वास्थ्य संस्थासम्म पुर्याउने र खर्चको बोझ हटाउने उद्देश्यले सुरु गरिएको यो पहलले स्थानीयमा भरोसा जगाएको छ।
नगर प्रमुख अजय थापाले सर्पदंशलाई स्वास्थ्य, वातावरण र जनचेतनासँग जोडिएको समग्र विषयका रूपमा लिएको बताउँछन्। “हामीले उपचार सेवा मात्र होइन, समयमै उद्धार, सचेतना र समुदायको सक्रियता सबैलाई जोडेर काम गरेका छौं,” उनले भने, “यसले ज्यान जोगाउने मात्र होइन, समाजमा सहकार्यको संस्कार पनि विकास गरेको छ।”
स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईका अनुसार चालु आर्थिक वर्षमा १४५ जना सर्पदंशका बिरामीले निशुल्क उपचार सेवा पाएका छन्। त्यस्तै, सोही अवधिमा ३०८ वटा सर्प सुरक्षित रूपमा उद्धार गरी मानव बस्ती बाहिर छोडिएको छ।
पहिला सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति थियो, अहिले खबर गर्ने र सुरक्षित रूपमा व्यवस्थापन गर्ने बानी बस्दै गएको छ,भट्टराई भन्छन्।
शिवराजमा अहिले सर्पदंशविरुद्धको अभियानमा स्थानीय स्वयंसेवकझैं सक्रिय देखिन्छन्। सर्पले डसेको खबर आएपछि कसैले मोटरसाइकल निकाल्छ, कसैले बिरामी बोकेर उपचार केन्द्रसम्म पुर्याउँछ। यस्ता व्यक्तिलाई नगरपालिकाले सम्मान गर्दै आएको छ। हालसम्म अजय थारु, गफ्फार मुसलमान, डिल प्रसाद गैरे र नवराज पौडेललाई जोखिम मोलेर गरेको उद्धार कार्यका लागि सम्मान गरिएको छ।














